मोरिसससँगको दोस्रो खेल आज, नेपालको लगातार जित लक्ष्य – Nepal Press
मैत्रीपूर्ण फुटबल

मोरिसससँगको दोस्रो खेल आज, नेपालको लगातार जित लक्ष्य

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । पहिलो खेलमा नेपाल १–० ले विजयी रह्यो ।

सुरुमा अनुशासनको कारबाही र त्यसपछि चोटका कारण दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर्तीमगरले निर्णायक गोल गरेपछि दशरथ रंगशालामा शनिबार नेपालले जित निकालेको थियो ।

दोस्रो खेल पनि आज पौने पाँच बजेदेखि दशरथ रंगशालामै हुनेछ । स्वास्थ्या सुरक्षा मापदण्ड पालना गरी क्षमताको एक दिहाई दर्शक राख्न सरकारले अनुमति दिएका कारण यो खेलमा पनि दर्शकको उपस्थिति हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फाले अघिल्लो खेलमा ३ हजार टिकट बेचेको थियो । एन्फाले साधारण प्यारापिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकटमूल्य तोकेको छ ।

आजको खेलमा नेपालको जित लक्ष्य हुनेछ । किनभने फिफा वरीयतामा सुधारका लागि नेपालभन्दा ३ स्थान तलको टोलीलाई लगातार खेलमा हराउनैपर्ने हुन्छ । अर्को नेपालले जितको लयलाई कायम राख्दा आगामी जुनमा हुने एसिया कप छनोट तेस्रो चरणमा नेपाल मनोवैज्ञानिक रुपमा बलियो हुन सक्छ ।

फिफा वरीयतामा अन्तिमतिर रहेका देशले अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेलको अवसर कमैमात्र पाउँछन् । यसबीचमा नेपालको लगातार जितको तथ्यांक पनि कमजोर नै छ । पछिल्लो ६ वर्षको आँकडा हेर्ने हो भने नेपालले तीनपल्ट मात्रै लगातार दुई खेल जितेको छ ।

नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा नेपालले लगातार तीन जितेको थियो । त्यसपछि २०१८ को साफ च्याम्पियनसिपमा लगातार दुई जित निकालेको नेपालले गत असोजमा सम्पन्न साफ च्याम्पियनसिपमै लगातार दुई जित आत्मसाथ गरेको थियो । पछिल्लो साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको हो ।

साफको फाइनलपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा मौरिससलाई हराएको हो । पहिलो खेल जितेपछि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले फिफा वरीयता सुधारको लक्ष्यबारे महत्वपूर्ण अभिव्यक्ति दिएका थिए । उनका अनुसार वरीयता सुधारका लागि हरसम्भव प्रयास हुनेछ । त्यसले एसियन कप र विश्वकप २०२६ का लागि छनोट चरणमा केहि सुविधा मिल्नसक्छ ।

झन्डै साढे दुई वर्षमा अन्तर्राष्टिय खेल खेलको मोरिसस वरीयताको १७२औं स्थानमा छ भने नेपाल १६९औं स्थानमा छ । शरीरिक रुपमा नेपालमाथि हावि हुन खोजे पनि मोरिसस तथ्यांकमा कमजोर नै छ ।

पहिलो पटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलको नेपालका लागि लगातार जित नै प्रमुख लक्ष्य हो । मोरिससका पाँच मुख्य खेलाडी कोरोना भाइरस संक्रमण पुष्टि भएका कारण पहिलो खेलमा उपस्थित थिएनन् । उसका फ्रान्सेली प्रशिक्षक मारी टोनीले उनीहरुले दोस्रो खेलमा खेल्न सक्ने बताएका थिए ।

नेपालका प्रशिक्षक अल्मुताइरीले पनि दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली बनाएका छन् । आजको खेलमा केहि खेलाडीको डेब्यूको सम्भावना पनि छ । पहिलो खेलमा उनले सातदोबाटो युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलिरहेका दुई मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका थिए । बिमल, जगजीत श्रेष्ठ र देवेन्द्र तामाङले टोलीमा पुनरागमन गरेका थिए ।

दोस्रो खेलका लागि नेपाली टोलीः

गाेलकिपरः किरणकुमार लिम्बु, बिशाल श्रेष्ठ, शत्रुघन चौधरी ।
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेष राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नवीन गुरुङ ।
मिडफिल्डरः सुरज ज्यू ठकुरी, पुजन उपर्कोटी, सुमन लामा, तेज तामाङ, सुभाष गुरुङ, सुजल श्रेष्ठ, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ ।
फरवार्डः अन्जन विष्ट, आशिष लामा, बिमल घर्ती मगर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर