प्रशिक्षक दासानायके भन्छन्- नेपाल विश्वकपका लागि योग्य छ – Nepal Press

प्रशिक्षक दासानायके भन्छन्- नेपाल विश्वकपका लागि योग्य छ

यो मेरा लागि अवसर हो : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टी-२० विश्वकपका लागि नेपाल योग्य रहेको बताएका छन् ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक र कप्तानसँग खेल पत्रकारको भर्चुअल अन्तर्रक्रियामा सोमबार साँझ बोल्दै दासानायकेले भने- ‘विश्वकपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता हामीसँग रहेकोमा म विश्वस्त छु ।’

यसअघि दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टी-२०  विश्वकप खेलेको थियो ।

ओमानमा नेपालले फेब्रुअरीको तेस्रो साता टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट खेल्दै छ । नेपाल रहेको समूह एमा क्यानडा, ओमान र फिलिपिन्स छन्। यस्तै समूह ‘बी’मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपालले विश्वकपको छनोटअघि चार देश सम्मिलित अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । त्यस प्रतियोगितामा आयरल्यान्ड, यूएई र ओमान छन् ।

प्रशिक्षक दासानायकेले नेपालका लागि चार देश सम्मिलित शृंखला आफू कहाँ छु भनेर बुझ्न राम्रो अवसर हुने बताए ।

‘पछिल्ला एक दुई महिना हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भए चार देश सम्मिलित प्रतियोगिता हाम्रा लागि अझ राम्रो हुने थियो’, उनले भने ।

कप्तान सन्दीप लामिछानेले विश्वकपमा छनोट हुनु सबैका लागि महत्वपूर्ण भएको र कप्तानका रुपमा आफ्ना लागि अवसर हुने बताए ।

उनले टिममा आन्तरिक समस्या रहेपनि यो अवस्थामा विश्वकपमा छनोट हुन सके नेपालले विश्वलाई ‘फरक क्यारेक्टर’ प्रस्तुत गर्न सक्षम हुने बताएका छन् ।

‘कप्तानको रुपमा मेरो पनि प्लान होला तर म सबैको प्लान सुनेर काम गर्छु’, उनले भने ।

उनले विश्व क्रिकेटमा भारत हार्दा मानिसहरु अचम्मित भएजस्तै नेपाल हार्दा पनि अचम्मित बन्ने स्थितीमा पुर्‍याउने योजना आफ्नो रहेको उनले सुनाए ।

‘हामीसँग जितको विकल्प छैन। हरेक खेलाडिले जित सोचेर खेल्नुपर्छ’, सन्दिपले भने ।

नेपाली टोलीमा सन्दीपसहित केही खेलाडी कोरोना संक्रमणका कारण आराम गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर