भन्सार महसुलको विद्युतीय भुक्तानी सुरुआत, अब घरबाटै भन्सार जाँच पास गर्न सकिने (भिडिओ) – Nepal Press

भन्सार महसुलको विद्युतीय भुक्तानी सुरुआत, अब घरबाटै भन्सार जाँच पास गर्न सकिने (भिडिओ)

काठमाडौं । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार सुरुआत गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् ।

इ पेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’को सुरुआत भएको पनि उनले बताए ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उनले भन्सार विन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’ उनले भने ।

अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिनुपर्ने बताए । भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत बताए ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनको जिकीर थियो ।

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *