कप्तानबाट हटेर सतक खोज्दैछन् कोहली ? – Nepal Press

कप्तानबाट हटेर सतक खोज्दैछन् कोहली ?

नयाँ दिल्ली । सन् २०१५ मा भारतीय टोली अष्ट्रेलियाको भ्रमणमा थियो । टेस्ट शृंखला चलिरहेका बेला महेन्द्रसिंह धोनीले कप्तानबाट राजीनामा दिएको घोषणा गरे ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसिसीआई) ले विराट कोहलीलाई कप्तानमा नियुक्त गर्‍यो । कप्तान बनेपछि उनले पहिलो, दोस्रोमा मात्र होइन लगातार तीन पालीमा सतक बनाए । टेस्ट कप्तानका रुपमा त्यसअघि कुनैपनि ब्याट्सम्यानले सुरुका तीनवटा पालीमा सतक बनाएको इतिहास थिएन ।

सन् २०१७ मा मात्र कोहलीले टेस्ट क्रिकेटमा चारवटा दोहोरो सतकसहित ५ सतक बनाए । त्यसै वर्ष उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ६ सतक बनाएका थिए ।

उनी एउटै क्यालेन्डर वर्षमा १० वटा सतक बनाउने पहिलो कप्तान बनेका थिए । उनले ७ पटक बनाएको दोहोरो सतक कप्तानका रुपमा कुनैपनि खेलाडीले प्राप्त गर्न नसकेको सफलता हो । यस्ता धेरै उपलब्धीहरु कोहलीले कप्तानका रुपमा लेखाएका छन् ।

उनै कोहली अहिले भारतीय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारीमा छैनन् । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टोलीले तीन खेलको टेस्ट शृंखला २—१ ले गुमाएपछि ३३ वर्षीय कोहलीले कप्तानबाट समेत राजीनामा दिएका थिए ।

त्यसअघि गत टी—२० विश्वकप क्रिकेटको पूर्व सन्ध्यामा उनले आफूले विश्वकपपछि टी—२० कप्तान छाड्ने घोषणा गरेका थिए । त्यसको केही समयमा बीसिसिआईले कोहलीलाई एकदिवशीय टोलीको कप्तानबाट पनि हटाएको थियो ।

कप्तानको विषयमा कोहली र बीसीसिआईबीच तनावको स्थिती नै देखियो । बिसीसिआईका पदाधिकारीले टी—२० कप्तान नछाड्न गरिएको आग्रह कोहलीले नमानेको आरोप लगाएको थियो । तर कोहलीले आफ्नो निर्णयलाई बिसिसीआईले त्यतिबेला सजिलै मानेको दावी गरेका थिए ।

कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ७० सतक बनाएका छन् । एकदिवशीयमा ४३ र टेस्ट क्रिकेटमा २७ पटक सतक बनाएका छन् । उनी एक्टिभ खेलाडीमध्ये सर्वाधिक सतक बनाएका ब्याट्सम्यान हुन् ।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा छन् । भारतकै सचिन तेन्दुलकर एक सय सतकसहित पहिलो र अष्ट्रेलियाका रिक्की पोन्टिङ ७१ सतकसहित दोस्रो स्थानमा छन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दोस्रो पालीमा २६ सतक बनाएका छन् । उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो पालीमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यान हुन् ।

कोहलीले दुई वर्षभन्दा बढी समययता सतक बनाउन सकेका छैनन् । यो प्रदर्शनले सचिनको सर्वाधिक सतकको कीर्तिमान भेट्ने सम्भावनाबाट उनी टाढा भइरहेका छन् ।

कोहलीले टेस्ट क्रिकेटतर्फ सन् २०१९ को नोभेम्बर र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटतर्फ सन् २०१९ को अगष्टमा अन्तिमपटक सतक बनाएका थिए । उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने हालसम्म सतक बनाउन सकेका छैनन् ।

कोहली कप्तानका रुपमा सर्वाधिक टेस्ट जित्ने खेलाडीका रुपमा भारतीय कीर्तिमान बनाएर जिम्मेवारीबाट बाहिरिएका छन् । उनको कप्तानीमा भारतले ६८ खेल खेलेकामा ४० जित, ११ बराबरी र १७ हारको नतिजा निकालेको थियो ।

उनी कप्तानका रुपमा धेरै खेल जित्ने खेलाडीको सूचीमा विश्वका खेलाडीमध्ये चौथो स्थानमा पर्छन् । महेन्द्रसिंह धोनीले ६० खेलमा २७ र सौरभ गांगुलीले ४९ खेलमध्ये २१ टेस्ट जितेका थिए । कोहलीले कप्तानका रुपमा जितेका ४० टेस्टमध्ये १६ भारतभन्दा बाहिर थिए ।

कोहलीको कप्तानीमा भारतले खेलेका २ सय १३ खेलमध्ये एक सय ३५ वटा जितेको थियो भने ६० वटामा हारेको थियो । ११ वटा बराबरीमा सकिएका थिए । चार खेल नतिजाविहिन बनेका थियो ।

यतिबेला भारतीय क्रिकेट टोलीको प्रदर्शन खराब देखिएको छ। दक्षिण अफ्रिकामा भारतीय टोलीले टेस्टपछि एकदिवशीय शृंखला पनि गुमाएको छ । कोहली रन बनाउन संघर्षरत छन् ।

दक्षिण अफ्रिकाविरुद्ध भर्खरै सम्पन्न तीन खेलको टेस्ट शृंखलामा एकपटक मात्र ५० रनको आँकडा पार गर्न सफल भए । जारी तीन खेलको एकदिवशीय शृंखलाअन्तर्गत पहिलोमा ५१ रन बनाएका कोहली दोस्रो खेलमा खाता खोल्न पनि सफल भएनन् ।

कम्तिमा उनीसामु एकदिवशीय अन्तरर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाउन सक्ने ‘रियल चान्सेस’ छ। एकदिवशीय अन्तरर्राष्ट्रिय क्रिकेटमा कोहलीभन्दा सचिन तेन्दुलकरले मात्र बढी सतक बनाएका छन् । सचिनको नाममा ४९ वटा एकदिवशीय सतक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर