‘ए’ डिभिजन लिग : आर्मीसँग पराजित भएसँगै फ्रेण्ड्सलाई रेलिगेशनको दवाव
काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई ३–१ गोलले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा आर्मीसँग पराजित भएसँगै फ्रेण्ड्समाथि रेलिगेशनको दवाव थप बढेको छ ।
आर्मीका लागि खेलको १०औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
पेनाल्टी एरियाको बाँया तर्फबाट जगजितले गरेको क्रस दोस्रो बारमा लाग्दै गोल भएको थियो ।
उनको प्रहार रोक्न फ्रेण्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले कुनै प्रयासनै गरेनन् ।
यस्तै, २२औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका दीनेश हेम्जनले ‘वान टच’ मा गोल गरे ।
दोस्रो हाफको सुरुआतमै फ्रेण्ड्सका लागि जमोउल एन्थोनी पाउलले सान्त्वना गोल गरे ।
आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर नगरेको बललाई एन्थोनीले खाली पोष्टमा प्रहार गर्दै गोल गरेका थिए ।
आर्मीका सुमन अर्यालले ७१औ मिनेटमा गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।
उनले जगजित श्रेष्ठले प्रहार गरेको कर्नरलाई बक्स भित्रबाट हेडर मार्फत सुन्दर फिनिस गरेका थिए ।
यस अगि दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
अघिल्ला खेलहरुको तुलनामा दुबै टोलीले औषत सुधारिएको प्रदर्शन गरेका थिए । यद्यपि आर्मी स्कोर निकाल्न सफल भयो ।
जितसँगै आर्मीले महत्वपूर्ण तीन अंक सहित गोल अन्तरको भने सुधार गरेको छ । आर्मी ९ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित फ्रेण्ड्स भने ९ खेलबाट ३ अंक सहित पुछारमा रहेको छ । हारसँगै फ्रेण्ड्सलाई रेलिगेशनको थप दबाब बढेको छ ।