कोरोना संक्रमणकाबीच अन्तरवार्ता दिएका जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न पाउलान ? – Nepal Press

कोरोना संक्रमणकाबीच अन्तरवार्ता दिएका जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न पाउलान ?

मेलर्बन । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपन खेल्न अष्ट्रेलिया पुगेका कीर्तिमानी खेलाडी नोभाक जोकोभिचको भिषा रद्ध गर्ने सरकारको निर्णय अदालतले उल्टाई दिएको छ।

तर अस्ट्रेलियन सरकारले जोकोभिचको भिषा फेरी रद्ध गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ। अष्ट्रेलिया पुगेको केही बेरमै त्यहाँको सरकारले जनवरी ६ तारिखमा जोकोभिचको भिषा रद्ध गरेको थियो ।

कोरोना संक्रमण भएको बेला पत्रकारलाई अन्तरवार्ता दिएको र अष्ट्रेलिया प्रवेश गर्दा झुटा विवरण उल्लेख गरेको आरोप अष्ट्रेलियन सरकारको छ ।

जोकोभिचलाई गत डिसेम्बर १६ तारिखमा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसको दुई दिनपछि एक फ्रेन्च पत्रकारलाई अन्तरवार्ता दिएका थिए ।

अष्ट्रेलिया जानुअघि भरिएको ट्राभल डिक्लरेसन फर्ममा जोकोभिचले पछिल्ला १४ दिनमा आफुले कुनै देशको भ्रमण नगरेको उल्लेख गरेपनि उनी त्यसबीचमा सर्बिया र स्पेन पुगेको पाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छैनन् ।

३४ वर्षीय जोकोभिचले हालसम्म कोरोना खोप लगाएका छैनन् । यसैलाई लिएर पनि उनको आलोचना भइरहेको थियो ।

अदालतको आदेशपछि जोकोभिचले कोरोना संक्रमण भएको बेला पत्रकारलाई अन्तर्वार्ता दिनु गलत भएको र ट्राभल डिक्लरेसन फर्ममा आफ्ना एजेन्टले गलत विवरण उल्लेख गरेको भन्दै क्षमा मागेका छन् ।

स्पेनका राफेल नाडाल र स्वीट्जरल्यान्डका रोजर फेडेररसँगै जोकोभिचबीचको नाममा सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा संयुक्त कीर्तिमान रहेको छ ।

अष्ट्रेलियन ओपन जितेमा उनी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा एक्लै रहने छन् । जोकोभिचले हालसम्म ९ पटक अष्ट्रेलियन ओपन, दुईपटक फ्रेन्च ओपन, ६ पटक विम्बल्डन र तीनपटक यूएस ओपन जितेका छन् ।

उनले गत वर्षका सुरुका तीन ग्रान्डस्लाम जितेका थिए भने चौथो तथा अन्तिम ग्रान्डस्लाममा भने फाइनलसम्म पुगेर पराजित भएका थिए । उनले अष्ट्रेलियन ओपनका पछिल्ला लगातार तीन संस्करण जितेका छन् ।

अष्ट्रेलियन ओपनको यो संस्करण जनवरी १७ देखि सुरु हुँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर