बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार जना पक्राउ – Nepal Press

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार जना पक्राउ

काठमाडौं । कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौंको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

काठमाडौं महानगरपाकिला–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो ।

सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको जनाएको छ । उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकराी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *