ओमिक्रोन त्रासले नेपालमा ‘किंग्सम्यान’ रिलिज स्थगित, माघपछिका फिल्मको रिलिज पनि अन्यौलमा – Nepal Press

ओमिक्रोन त्रासले नेपालमा ‘किंग्सम्यान’ रिलिज स्थगित, माघपछिका फिल्मको रिलिज पनि अन्यौलमा

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण प्रतीक्षित हलिउड फिल्म ‘किंग्स म्यान’को नेपाल प्रदर्शन मिति स्थगित भएको छ ।

फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले सोमबार फिल्मको पूर्वनिर्धारित रिलिज डेट स्थगित भएको जनाएको हो । एप्पलकी जेनिश पहारीका अनुसार कोरोनाको परिस्थिती साम्य नभएसम्म नयाँ रिलिज डेट घोषणा हुनेछैन ।

जनवरी १४ मा रिलिज डेट घोषणा गरिएको किंग्सम्यान स्थगित भएपनि उक्त मितिमा एप्पलकै अर्को फिल्म ‘माइ हिरो अकाडेमिया : वर्ल्ड हिरोज् मिसन’ भने रिलिज हुनेछ । पहिलोपटक नेपालमा जापानी फिल्मको व्यवसायिक प्रदर्शन हुन लागेको हो ।

‘कोभिडको परिस्थितीले पनि अन्यौल भएको र सोही मितिमा हाम्रो अर्को फिल्म आउने भएपछि तत्काल रिलिज नहुने निर्णय गरेका हौैं’ पहारीले नेपाल प्रेसलाई भनिन्, ‘परिस्थितीमा सुधार नभएसम्म हामी रिलिजको जोखिम लिन चाहँदैनौं ।’

‘किंग्स म्यान’ अमेरिका र बेलायतमा रिलिज भैसकेपनि भारत र नेपालमा चाहिँ रिलिज भएको छैन । भारतमा ओमिक्रोन त्रासले फिल्म हलहरु बन्द भएपछि किंग्सम्यानसहित दक्षिण भारतीय फिल्म आरआरआर पनि रोकिएको छ ।

किंग्सम्यान स्थगित हुँदाको फाइदा सो मितिमा रिलिज हुने फिल्म चपली हाइट ३ लाई हुनेछ । निर्देशक निकेश खड्काले निर्धारित मितिमै रिलिज हुनेतर्फ संकेत गरे । ‘पुस मसान्तसम्म कोरोनाको परिस्थिती जटिल हुन्छजस्तो लाग्दैन’ नेपाल प्रेसलाई उनले भने ।

माघपछिका फिल्मको रिलिजमा अन्यौल

स्वास्थ्य मन्त्रालयले माघ दोस्रो सातादेखि नेपालमा कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने बताएसँगै माघ महिनापछिका फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु भएको छ ।

माघ १९ मा रिलिज मिति घोषणा गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति अब कोरोनाको परिस्थितीमै निर्भर हुनेछ ।

‘कोरोनाको स्थिती कस्तो हुन्छ त्यही अनुसार हामी अघि बढ्ने तयारीमा छौं’ नेपाल प्रेससँग नायिका तथा निर्मात्री पूजा शर्माले भनिन्, ‘हाम्रो जोड रिलिज गर्नेमै छ तर, सबै कुरा परिस्थितीमा निर्भर हुनेछ ।’

माघ २८ मा सौगात मल्लको ‘मन्त्र’, फागुन १३ मा लप्पन छप्पन २ र प्रेमगीत ३, फागुन २८ मा सम्हालिन्छ कहिले मन र आकाशे खेती, चैत ४ मा चिसो एस्ट्रे, चैत ११ मा हेलो जिन्दगी, चैत १८ मा पासो, चैत २५ मा ए मेरो हजुर ४, बैशाख २३ मा कबड्डी ४ र लक्का जवान तथा बैशाख ३० मा चिसो मान्छेले प्रदर्शन मिति घोषणा गरेका छन् ।

यी सबै फिल्म निर्धारित मितिमै रिलिज हुन्छन् या हुँदैनन् भन्ने कुरा कोभिडको तेस्रो लहरमा निर्भर हुनेछ । भारतमा कोभिडको तेस्रो लहर सुरु भएसँगै फिल्म पोस्टपोन्ड हुन थालेका छन् ।

नेपालमा कोभिडको पछिल्लो अवस्था कस्तो छ ?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाको औषत आर भ्यालु १.०४ प्रतिशत पुगेको छ । एक प्रतिशतभन्दा बढी आरभ्यालु पुगेमा संक्रमण उकालो लागेको बुझिन्छ र एकभन्दा तल आर भ्यालु भए महामारी नियन्त्रणमै रहेको बुझ्न सकिन्छ । आर भ्यालूको अर्थ एकजना संक्रमितले कति जनालाई भाइरस सारिरहेको छ भन्ने हो । आर भ्यालू २ प्रतिशत पुग्दा दोस्रो लहरको बेला निषेधाज्ञा सुरु भएको थियो ।

नेपालमा अहिलेसम्म ३ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भैसकेको छ । त्यसपछिका परीक्षणमा एस जिन नदेखिएको बताइएको छ । यसको अर्थ ओमिक्रोन भेरिएन्ट पुष्टि हुने सम्भावना उच्च छ भन्नु हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले आर भ्यालु एक प्रतिशतभन्दा बढी हुनु तेस्रो लहरको पूर्वसंकेत भएको बताए । ‘माघको दोस्रो साता महामारी तीव्र बन्ने प्रारम्भिक आंकलन गरिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *