पोखरामा विद्यालय नाटक महोत्सव हुँदै, १६ नाटक छानिए – Nepal Press

पोखरामा विद्यालय नाटक महोत्सव हुँदै, १६ नाटक छानिए

राजाराम पौडेल/पोखरा

पोखरामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म विद्यालय नाटक महोत्सव आयोजना हुने भएको छ । पोखरा थिएटरले आयोजना गर्न लागेको यो दोस्रो संस्करणको महोत्सव गण्डकी प्रदेश स्तरिय विद्यालय नाट्य महोत्सव हो ।

महोत्सवमा १६ नाटक छानिएका छन् । प्राप्त २४ मध्ये १६ नाटक पहिलो चरणमा छानिएको महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । ‘नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुति आदिलाई आधार मानेर छनोट कमिटिले १६ नाटकलाई छनोट गरेको हो’ उनले भने ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन थिए ।

छानिएका नाटकलाई १५ दिनको रिहर्सल अवधि दिइने भएको छ । त्यसपछि छनौट कमिटिले नाटकको अवलोकन गर्ने छ । ती मध्येबाट १० नाटकलाई अन्तिम चरणको लागि छानिने भएको छ । यसरी छानिएका नाटक आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

पहिलो चरणमा कास्की जिल्लाबाट तीन नाटक छानिएका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको ‘शान्तिको अशान्ति’, आर्या मिश्रको लेखन तथा निर्देशनमा गण्डकी बोर्डिङ्ग स्कूलको ‘पीडा’, सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको ‘आरोह अवरोह’ शीर्षकको नाटक छन् ।

तनहुँ जिल्लाबाट दुई नाटक छानिएका छन् । टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको ‘नाम बिनाको चिर्कटो’ र आकाश अधिकारीको लेखन तथा नारायणी अधिकारीको निर्देशनमा ‘आदिकवि भानुभक्त क्याम्पसको समय संवाद’ नाटक छन् ।

लमजुङ जिल्लाबाट तीनवटा नाटक छनौट भएका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको ‘धनवहादुर’। मीरा नेपालीको लेखन तथा प्रतिभा अधिकारीको निर्देशनमा ‘शैलपुत्री’, नमुना माध्यमिक विद्यालयको ‘नारीको सम्मान मानवताको पहिचान’ र सूर्यबहादुर केसीको लेखन तथा पशूपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको ‘जिउँदा लाशहरु’ नाटक छन् ।

गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ति माध्यमिक विद्यालयको ‘एक समर्पित छोरा’ शीर्षकको नाटक छन् ।

नवलपुर जिल्लाबाट चारवटा नाटक छानिएका छन् । जसमा लीलाबबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको ‘हराएको खुशी’, डिला भट्टराई, लक्ष्मी सापकोटा र विष्णु काफ्लेको लेखन तथा सृष्टि भट्टराईको निर्देशनमा सरस्वती माध्यमिक विद्यालयको असल बुहारी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयो सक्षम छात्रा शीर्षकको नाटक छन् ।

म्याग्दीबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको ‘बालविवाह’ शीर्षकको नाटक छानिएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गरेका छन् । बागलुङबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पीडा छानिएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।

पर्वतबाट न्यू होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शीर्षकको नाटक छनोटमा परेको छ । मीना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गरेकी छिन् ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन् । गतवर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालयस्तरिय नाटक महोत्सवको आयोजन गर्न थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *