ज्ञानेन्द्रसँग क्यानले राख्यो ‘मध्यमार्गी’ प्रस्ताव, खेलाडीले मागे भोलिसम्मको समय – Nepal Press

ज्ञानेन्द्रसँग क्यानले राख्यो ‘मध्यमार्गी’ प्रस्ताव, खेलाडीले मागे भोलिसम्मको समय

क्यान अध्यक्ष र सचिवकै परस्परविरोधि भनाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जारी विवाद समाधानका लागि खेलाडीहरुसँग मध्यमार्गी प्रस्ताव राखेको छ । खेलाडीहरुले भोली बिहान ९ बजेसम्मको समय मागेका छन् ।

असन्तुष्ट खेलाडीहरुको तर्फबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्ल आज क्यानसँग छलफलमा बसेका थिए । उनले सुरुमा क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग वान टु वान कुराकानी गरे भने त्यसपछि क्यानका पदाधिकारी र प्रशिक्षकसँग बसेका थिए ।

आफूहरु आत्मालोचनाका लागि तयार भएको भन्दै क्यानका सबै कारवाही फिर्ता हुनुपर्ने ज्ञानेन्द्रको अडान थियो । तर, क्यान त्यसमा सहमत भएन ।

कप्तान परिवर्तनको निर्णयबाट कुनै हालतमा पछाडि फर्किन नसक्ने क्यानको अडान छ । तर, चार खेलाडीलाई सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णय फिर्ता लिन भने क्यान तयार भएको छ ।

क्यान अध्यक्ष चन्दले भने पूर्व कप्तान मल्लसँग सहमति भइसकेको दावी गरे ।

उनले नेपाल प्रेसलाई भने – सन्दिपलाई नै कप्तान मान्न उहाँ तयार हुनुभएको छ । बाँकी कारवाहीको विषय क्यानको आगामी बोर्ड वैठकबाट सच्याउने हामीले प्रतिवद्धता जनाएका छौं । सबै खेलाडीहरु अब बन्द प्रशिक्षणमा सहभागी हुन्छन् ।

तर, क्यानका सचिव प्रशान्तविक्रम मल्लको भनाइ चन्दसँग बाझिएको छ । उनले खेलाडीहरुसँग सहमति भइनसकेको बताए ।

‘हामीले कप्तान परिवर्तनबाहेकका निर्णय फिर्ता लिन तयार रहेको बताएका छौं । उहाँहरुले भोलि बिहान नौ बजेसम्मको समय माग्नुभएको छ,’ मल्लले भने ।

क्यान र खेलाडीको विवाद समाधान नहुँदा टि-२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षण प्रभावित भएको छ ।

आजबाट बन्द प्रशिक्षण सुरु हुनुपर्ने थियो । तर, प्रशिक्षणका लागि छनोटमा परेका ३० जना खेलाडीमध्ये १९ जना होटलमा आएका छैनन् । भोली पनि बन्द प्रशिक्षण हुने÷नहुने अन्योल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर