प्रधानमन्त्रीसमक्ष विदेशी फिल्म र संस्कृतिले अतिक्रमण गरेको भन्दै मागपत्र पेश – Nepal Press

प्रधानमन्त्रीसमक्ष विदेशी फिल्म र संस्कृतिले अतिक्रमण गरेको भन्दै मागपत्र पेश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियानको प्रतिनिधिमण्डलले भेट गरी देशमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराएको छ ।

महाअभियानका संयोजक एवं चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा बालुवाटारमा गएको प्रतिनिधिमण्डलले देशका पुरातात्विक सम्पदा एवं संस्कृतिलाई संरक्षण संवद्र्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनुपर्ने माग गरेको हो ।

निरौलाका अनुसार नेपालको मौलिक धर्म संस्कृतिमाथि अतिक्रमण भएको र नेपालको संस्कृति लोपोन्मुख रहेको कुरा राखिएको थियो । साथै, फिल्म निर्माण गर्दा मौलिक संस्कृतिमा आधारित रहेर गर्नुपर्ने र विदेशी चलचित्रले नेपालको संस्कृतिलाई अतिक्रमण गरेको मुद्दा पनि प्रधानमन्त्रीलाई बुझाइएको संयोजन निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय बढिरहेको धर्मान्तरणको मुद्दालाई व्यापकताका साथ उठाइएको छ । यिनै बुँदा समेटेर प्रधानमन्त्रीलाई १० बुँदे मागपत्र बुझाइएको हो ।

कुनै पनि देशको सभ्यता र संस्कृतिसँग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्ण राख्नका लागि संस्कृति जीवन्त रहनुपर्ने अभियानको मूल उद्देश्य रहेको छ ।

प्रधानमन्त्री देउवाले महाअभियानलाई सफलताको शुभकामना दिँदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको संयोजक निरौलाले जानकारी दिए ।

प्रतिनिधिमण्डलले महाअभियानको प्रतीकस्वरूप नेपालको विविध संस्कृति र सम्पदा अङ्कित छायाँ चित्र, महाअभियानको कार्यक्रम पुस्तिका प्रधानमन्त्री देउवालाई उपहारस्वरुप प्रदान गरेको थियो ।

परिवर्तन नेपालअन्तर्गत गठन भएको उक्त महाअभियान गत मङ्सिर २६ गते शुभारमभ भएको थियो । महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि पर्चा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *