ए डिभिजन लिग : जितबिहिन फ्रेन्डस, पुलिससँग बराबरी
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र फ्रेन्डस् क्लबले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा दुवै टोलीले थुप्रै अवसरहरू सृजना गरेपनि गोल गर्न सकेनन् ।
फ्रेन्डसका लागि खेलको १२औं मिनेटमा हरि कठायतको क्रसमा जुडे गर्सियाको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरिले बचाएका थिए ।
यस्तै, २९औं मिनेटमा पुलिसका मिडफिल्डर तेज तामाङको फ्रि—किकमा मान बहादुर परियारले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेन ।
पुलिसका लागि ३२औं मिनेटमा मिडफिल्डर नीर कुमार राईको पासमा सौजन राईले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । उनले फ्रेन्डसका गोलकिपर देव लिम्बू बिट भईसकेको अवस्थामा गोल गर्ने अवसर गुमाएका थिए ।
पुलिसका डिफेन्डर मान बाहादुरले ४५औं मिनेटमा दिएको लामो पासमा रबि पासवानको एक्रोब्याटिक प्रहार क्रसबारमा लागेर बाहिरियो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्धारित समयसम्म पनि दवाव सृजना गरेको पुलिसले गोल भने गर्न सकेन ।
बराबरिसँगै ६ खेलबाट ६ अंक जोड्दै पुलिस तालिकाको आठौं स्थानमा उक्लिएको छ। जितबिहिन फ्रेन्डस तालिकाको पुछारमा छ ।