बक्सअफिस : ‘स्पाइडरम्यान’लाई नेपालमा पहिलो साता ४.७० करोड ग्रस – Nepal Press

बक्सअफिस : ‘स्पाइडरम्यान’लाई नेपालमा पहिलो साता ४.७० करोड ग्रस

काठमाडौ । मार्भल स्टूडियो र सोनी पिक्चर्सको सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’ले कोरोना महामारीयताकै सर्वाधिक कमाइ गरेको छ ।

टम हल्यान्ड र जेन्डाया स्टारर फिल्मले पहिलो साता नेपाली बक्सअफिसमा ४ करोड ७० लाख ग्रस कलेक्सन गरेको छ । सुरुआती दुई दिनमै २ करोड २५ लाख ग्रस कमाएको फिल्मले दोस्रो साता पनि उत्साहजनक कमाइलाई निरन्तरता दिने अनुमान छ ।

पहिलो साता मुलुकका प्रमुख मल्टिप्लेक्समा शतप्रतिशत प्रदर्शन गरेको फिल्मले रिलिजअघि नै ७६ लाख बराबरको टिकट विक्री गरेको थियो । हल संचालकका अनुसार स्पाइडरम्यानलाई दोहोर्‍याएर हेर्ने दर्शक बढेका छन् ।

दोस्रो साता पनि क्यूएफएक्स, वान सिनेमाज्, बिग मूभिजसहितका मल्टिप्लेक्सले स्पाइडरम्यानलाई उच्च सोज दिएका छन् । तर, शुक्रबारदेखि प्रदर्शनमा आएका हलिउडकै म्याट्रिक्स : रिसुरेक्सन र अतरंगी रे केही चुनौति बन्न सक्ने अनुमान छ ।

‘दोस्रो साता पनि मार्भलको स्पाइडरम्यानले राम्रै कमाइ गर्न सक्ने आशा राखिएको छ’ वितरण कम्पनी एप्पलका रुबेन श्रेष्ठले नेपाल प्रेसलाई भने । स्पाइडरले भारत, युरोप र अमेरिकी बक्सअफिसमा समेत उछाल कमाइ गरेको विवरण प्राप्त भएका छन् ।

स्पाइडरम्यानसँगै प्रदर्शनमा आएको भारतको तेलुगु फिल्म ‘पुष्पा : राइज अफ हिरो’ले पनि बक्सअफिसमा राम्रो कमाइ गरेको छ । स्पाइडरम्यानको ओभरफ्लोको कारणले पनि पुष्पालाई लाभ मिलेको ठानिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *