जनयुद्धका कमाण्डर जोडी एमालेको राजनीतिसँगै कृषिकर्ममा – Nepal Press

जनयुद्धका कमाण्डर जोडी एमालेको राजनीतिसँगै कृषिकर्ममा

भन्छन्– राजनीतिलाई उत्पादनसँग नजोडे समाजवादमा पुग्न सकिन्नँ

रुपन्देही । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वकालभर भूमिगत भएर विभिन्न सैन्य मोर्चा सम्हालेका अनुप बराल (विश्वराज) र पूजा कार्की (गंगा)को जोडी अहिले राजनीतिसँगै उत्पादनमा जोडिएका छन् । तर उनीहरु अहिले माओवादी त्यागेर नेकपा एमालेबाट राजनीतिक गतिविधि गरिरहेका छन् ।

उनीहरु एकैस्वरमा भन्छन्– माओवादीले क्रमशः गति छाड्दै गयो, त्यो पार्टीमा बस्नु ठीक लागेन । र, उत्पादनसँग जोडिँदै नेकपा एमालेबाट राजनीति गर्नु उपयुक्त लाग्यो ।

एमाले–माओवादी एकता भंग भएपछि उनीहरु एमालेमै रहेका हुन् ।

जीवनको ऊर्जाशील २६ वर्ष राजनीतिमा बिताएको यो जोडीले राजनीतिक यात्रासँगै आत्मनिर्भरताका लागि कुखुरापालन व्यवसाय सुरुवात गरेर उदाहरणीय सन्देश दिन दिएका छन् । लामो समय भूमिगत राजनीतिमा होमिएको यो जोडीले अहिले राजनीतिसंगै परिवार र व्यक्तिगत जीवनको लागि पनि समय छुट्याउन लागेका छन् ।

दुई शताब्दी राजनीति गरेका अनुप र पूजाले रुपन्देहीको तिलोत्तमा नगरपालिका– १४ टिकुलिगढस्थित तिनाउ नदी नजिकै कुखुरापालनसहितको कृषि कर्म गरेर अरुको सहयोगमा राजनीति गर्नेहरुलाई गतिलो जवाफ दिएका छन् ।

जनयुद्धमा अनुप नामले चिनिएका उनको वास्तविक नाम भने विश्वराज बराल हो । त्यसैगरी युद्धकालमा पूजा नामले परिचित उनको सहयात्रीको वास्तविक नाम गंगा कार्की हो ।

धेरैले उनीहरुको नाम अनुप र पूजा नै भनेर चिन्ने गर्दछन् । कास्कीमा जन्मिएका विश्वराज विद्यालय तहमा अनेरास्ववियु भएपनि ०५३ सालमा चितवनमा क्याम्पस अध्ययन सुरु गरेसँगै अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिमा लागेका थिए । त्यसपछि उनी भूमिगत भएर पार्टी राजनीतिमा लागे । र उनी अहिले नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशको राष्ट्रिय उद्योग व्यवसायी महासंघ इन्चार्ज तथा पार्टीको रुपन्देही क्षेत्र नम्बर ३ को इन्चार्ज छन् ।

अनुप प्रदेशसभाको निर्वाचनमा रुपन्देहीबाट प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार थिए । तर उनी उक्त निर्वाचनमा थोरै मतले पराजित भएका थिए । पूजा नेकपा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

राजनीतिसँगै अुनप र पूजाको जोडी स्थानीय जातको कुखुरा तथा बट्टाई र कृषि उत्पादन सुरु गरेका छन् । अहिले उनीहरु पार्टीको जिम्मेवारीसँगै आलोपालो गरी कुखुराको स्याहार, रेखदेख र कृषिकर्ममा खटिन्छन् । दुवैजना राजनीतिक जिम्मेवारीमा भएकाले कहिलेकाँही सँगै जानुपर्दा भने छिमेकीले सघाउँछन् ।

उनीहरुको घरमा कुखुरा फर्म (लोकल कुखुरा) र बट्टाई फर्म र लोभलाग्दो कृषि पेसा छ । कोरोना महामारीमा भएको लकडाउनमा उनीहरुले कुखुरासँगै बट्टाई पनि पालन सुरु गरेका हुन् ।

अनुप भन्छन्, ‘जीवनको लामो समय पार्टी, संगठन, देश र जनताको लागि खर्च गरियो, क्रान्तिद्वारा राज्यसत्ता परिवर्तन गरी जनता र राष्ट्रको मुक्तिको लागि भनेर युद्धमा होमियो, तर अब उत्पादनमा नजोडिने हो भने परिवार पनि आर्थिक अप्ठ्यारोमा पर्छ र समाजवादको यात्रा पनि सहज हुन सक्दैन भन्ने लागेर काममा लागेका छौं ।’

अनुप र पूजाको उदाहरणीय यो जोडीलाई उत्पादनको काममा अलि ढिलो जोडियो कि भन्ने लागिसकेको छ । दुई वर्ष पहिले १५ दिन चीनको सियान घुमेर फर्केका अनुपलाई त्यहाँको प्रगति देखेर आँट आएको बताउँछन् ।

‘अलि पहिले नै व्यवसाय सुरु गरेको भए अहिले व्यवस्थित भइसकिन्थ्यो, परिवार चलाउन सजिलो हुने र अरुका बीचमा सन्देश पनि राम्रै जाने थियो’, उनी भन्छन्, ‘तर ढिलै भएपनि सुरु गर्यौं सन्तुष्ट नै छौं, राजनीति गर्ने हरेक व्यक्तिले उत्पादनका केही न केही काम गरेर समाजमा सकारात्मक सन्देश दिन जरुरी छ, यो प्रयोगात्मक अध्यास पनि हो ।’

पार्टी संगठनका कामसँगै जनयुद्धको समयमा राइफल र बन्दुक मात्र होइन एसएलआर, एसएमजी, माउजर, एलएमजी, एम १६, एके ४७ जस्ता अत्याधुनिक हतियार बोकेको अनुभवी यो जोडीले गरेको व्यवसायिक कामले अरु राजनीतिक गर्नेलाई दबाब दिएको छ ।

जीवनको ऊर्जाशील समय राजनीतिमा लगाउँदा आफ्नो र परिवारको बारेमा खासै सोच्ने फुर्सद नपाएपनि अहिले भने परिवार र आफ्नो लागि व्यवसाय सुरु गरेको अनुप बताउँछन् ।

पार्टीभित्र इमान्दार र मेहनती नेताको पहिचान बनाएका अनुप र पूजा आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आफ्नो खर्चको स्रोत आफै जुटाउन यस्तो कामको थालनी गरेको बताउँछन् ।

आफ्नै दलको नेतृत्वमा बलियो सरकार बनेको बेला कतिपय कार्यकर्ता लाभको लागि शक्तिकेन्द्र धाइरहँदा यो जोडिले भने त्यो बाटो नरोजी मेहनत र पौरखलाई रोज्यो । ‘हामी कुनै लोभ लालचले युद्ध र राजनीतिमा होमिएको भए अहिले पद र पैसाको मोह जाग्थ्यो होला, गरिब सर्वहारा वर्गको मुक्तिको लागि भनेर युद्धमा होमिएका थियौं’ अनुप भन्छन् ।

नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन माओवादी आन्दोलन सही भए पनि आन्दोलनको लागि जे सपना देखाइएका थिए आज ती पूरा नहुँदा भने उनीहरुलाई खिन्न लागेको छ ।

‘त्यतिबेलाको आन्दोलन सही थियो, आवश्यकता पनि थियो’, अनुप भन्छन्, ‘आन्दोलनले कम्युनिष्टहरुलाई जसरी सांस्कृतिक रुपमा परिवर्तन गर्न सक्नुपथ्र्यो त्यो हुन सकेन, नेतृत्वमा आएको विचलनले माओवादी सकिएको हो, एमाले पुरानो एमाले होइन, नेकपाको निरन्तरता हो, यसबाटै राजनीतिक अधिकार पूरा गराउन सकिन्छ भन्ने मेरो अठोट हो’, उनी भन्छन् ।

निराश बनेर विदेश पलायन हुने युवाहरुलाई देशमै रोजगारीका अवसर सिर्जना गरी स्वरोजगार बनाउन सरकारले सघाउनुपर्ने उनी बताउँछन् । ‘नदेखिएको स्रोतबाट पैसा कमाउने र रातारात धनी बन्ने सपना बोकेर कहिल्यै सफल बन्न सकिँदैन, पार्टीले कार्यकर्तालाई उत्पादनसँग नजोडे उनीहरु आफ्नो खर्च जुटाउनकै लागि अनेक स्रोत खोज्छन् र नीति एकातिर अनि कार्यकर्ता एकातिर हुन्छन् त्यसलाई बदल्न आधारभूत तहबाटै ध्यान दिन जरुरी छ’, उनले भने ।

अरुलाई गाली गर्दै विदेश पलायन भइरहँदा देश सधै परजीवि बन्ने भएकोले देशलाई आत्मनिर्भर र स्वाधीन बनाउन उत्पादनमा लाग्न जरुरी भएको उनी बताउँछन् ।

जग्गा आफ्नै भए पनि खोर बनाउन र चल्ला किन्नकै लागि अहिलेसम्म २०–२५ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए । कुखुराको लागि दाना, औषधि, भ्याक्सिन सबैको लागि उनले ऋण खोजेरै खर्च चलाउने गरेको बताए ।

पहिलो चरणको लकडाउनसँगै सुरु गरिएको र जग्गासमेत थोरै भएकोले सुरुमा थोरै कुखुरा पालेपनि काम पुगेको उनको भनाइ छ । ‘महिनामा डेढ दुई सय कुखुरा बिक्री गर्न सकियो भने पनि ४०–५० हजार आम्दानी सहजै गर्न सकिने रहेछ, अण्डाबाट नि राम्रै आम्दानी हुने रहेछ, त्यति भयो भने घरपरिवार चल्छ’, उनले भने ।

गोलीको छर्रा बोकेर व्यवसाय र राजनीति

दर्जनौं ठूला र साना लडाइँमा जोगिएकी पूजा अन्तिमपटकको तौलिहवा भिडन्तमा सामान्य घाइते भइन् । ‘६ वर्ष जोगिएरै धेरै लडाइँ लडियो, तर अन्तिम लडाइँमा गोली लाग्नबाट जोगिए पनि छर्रा लागेको थियो, त्यो अहिले पनि शरीरमै छ ।’ उनी भन्छिन् ।

पार्टी शान्ति प्रकृयामा आएपछि पनि उनी पार्टी र संगठन निर्माणमा सक्रिय रहिन् । २०६३ सालमा वाइसिएलको अध्यक्ष भएर जाँदा अनुप र पूजा वैवाहिक सम्बन्धमा बाँधिइसकेका थिए । उनी अर्घाखाँची छँदा अनुप नवलपरासी थिए । ६५ सालमा पूजा वाइसिएलको रुपन्देही अध्यक्ष भएर आए पनि अनुप भने पार्टी काममा कपिलवस्तु खटाइएका थिए ।

माओवादी युद्धमा भएको भेटघाट र चिनजानपछि ०६३ मा विवाह गरेको यो जोडी त्यसयता ८–१० वर्ष एकै ठाउँ बस्न पाएनन् । अहिले रुपन्देहीमा आफ्नो व्यवसाय र राजनीतिक जिम्मेवारी भएपछि उनीहरुको जिन्दगी फेरिएको छ ।

पूजाको संघर्षः ६ वर्ष भूमिगत, दजनौं लडाइँमा प्रत्यक्ष संलग्न

अर्घाखाँची शितगंगाकी गंगा कार्की (पूजा)ले माओवादीको सैन्य फाँटमा ६ वर्ष काम गरिन् । २०५७ सालमा तत्कालीन माओवादीको सेनामा आवद्ध भएर भूमिगत जीवन सुरु गरेकी पूजा सैन्य कारवाहीकै क्रममा देशका अधिकांश जिल्ला पुगेकी छन् । ‘रोल्पादेखि गोर्खासम्म त पैदल हिंडेरै पुगियो, रोल्पा, रुकुम, प्यूठान, धादिङ, अर्घाखांची, गुल्मी यी जिल्ला त कति हिंडियो’ उनीले विगत सम्झिँदै भनिन् ।

पूजालाई ६ वर्षमा कतिवटा लडाइँमा सहभागी भइयो भन्ने पूरै गणना छैन । आफू सहभागी भएर गरिएका कारवाहीका ठूला घटना भने उनलाई सम्झना आइरहन्छन् । ‘हतियार बोकेर पहिलोपटक गुल्मीको वामीटक्सारमा रहेको प्रहरीचौकीमा आक्रमण गर्न गएकी थिएँ’, पूजा भन्छिन्, ‘त्यसपछिका ठूला आक्रमणहरु बेनी, अर्घाखाँचीको सन्धिखर्क, दुम्किबास, गोर्खाको ताकुकोट, स्याङजाको वालिङ, कपिलवस्तुको तौलिहवा यी सबै आक्रमणमा सहभागी भएँ ।’

अनुपको राजनीतिक इतिहास

कास्कीको मादी गाउँपालिका– १२ मा जन्मिएका अनुप (विश्वराज बराल) सानैदेखि राजनीतिप्रति रुचि राख्थे । विद्यालय उमेरदेखि नै विद्यार्थी राजनीतिमा झुकाव राख्ने उनी २०५३ सालमा चितवन क्याम्पस पढ्दै गर्दा माओवादीनिकट विद्यार्थी संगठनमा आवद्ध भइसकेका थिए ।

क्याम्पस पढ्दै गर्दा २०५५ सालको असारदेखि उनी भूमिगत भएर धादिङ, चितवन लगायतका जिल्लामा चार वर्ष बिताए । भूमिगत रहँदा नै २०५७ सालमा उनी माओवादी निकट विद्यार्थी संगठनको चितवन जिल्ला अध्यक्ष भएर काम गरे ।

भूमिगत भए पनि सुुरुमा सैन्य संगठनमा काम गरे पनि पछि पार्टी संगठनमै धेरै काम गरे उनले । जनयुद्धको सुरुवाती चरणमा नुवाकोटमा उनी टिमको कमाण्डर थिए, त्यतिबेला उनका सहयोद्धाको मृत्यु भयो, उनी घाइते भएका थिए ।

केही समयपछि स्याङ्जाको सदरमुकाम कब्जा गर्ने समयमा उनी प्लाटुन कमिसारको रुपमा पुगेका थिए । २०५८ सालमा सैन्य संगठनको चितवन प्रमुख भएर चितवन तथा धादिङसम्म सैन्य कारवाहीमा पुगेको अनुभव छ उनीसँग । तर त्यसपछिको समयमा उनी पार्टी संगठनमै धेरै खटिए । ग्रामीण क्षेत्रका गरिब तथा सर्वहारा वर्गलाई पार्टी र संगठनमा आवद्धताका लागि कन्भिन्स गर्न उनी खप्पिस थिए ।

चितवनपछि २०५९ सालमा संगठन निर्माणका लागि रुपन्देही खटिएका अनुपले ६३ सालमा नवलपरासी र ६५ सालमा कपिलवस्तुमा पार्टीको जिल्ला सचिव भएर काम गरे । कपिलवस्तुबाट २०७० सालमा रुपन्देही फर्किएका उनी त्यसपछि रुपन्देहीमै पार्टीको काममा व्यस्त छन् ।

प्रतिक्रिया

One thought on “जनयुद्धका कमाण्डर जोडी एमालेको राजनीतिसँगै कृषिकर्ममा

  1. क्रेशर उध्योग बाट तन्न कमाय पछि देखाउने दात कुखुरा पाल्नु भयछ बधाई छ कमरेड अब कालो धन लाई सेतो बनाउनुस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर