अष्ट्रेलियाबाट सन्दिपले भने : खेलाडी र क्यान एक ठाउँमा आउनैपर्छ – Nepal Press

अष्ट्रेलियाबाट सन्दिपले भने : खेलाडी र क्यान एक ठाउँमा आउनैपर्छ

‘ज्ञानेन्द्र र दिपेन्द्र टिमका मुख्य स्तम्भ’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले क्रिकेट संघ र खेलाडीहरुको विवादले चाँडै निकास पाउने आशा व्यक्त गरेका छन् ।

हाल अष्ट्रेलियामा रहेका सन्दिपले क्रिकेटको चर्चित वेवसाइट क्रिकइन्फो डटकमलाई अन्तरवार्ता दिँदै नेपाली टोलीले मैदान बाहिरको विवादलाई पन्छाएर मैदानभित्र राम्रो प्रदर्शन गर्ने दावी गरे ।

नेपाल क्रिकेट संघले गत साता ज्ञानेन्द्र मल्ललाई कप्तानबाट बर्खास्त गर्दै सन्दिपलाई नयाँ कप्तान नियुक्त गरेको छ । यसलाई लिएर क्रिकेट संघ र खेलाडीहरुबीच उत्पन्न भएको विवाद अझै समाधान भएको छैन । सन्दिपले अन्तरवार्तामा क्यान वा खेलाडी कसैको पक्ष नलिइकन बोलेका छन् ।

‘देशको नेतृत्व गर्नु मेरो लागि सम्मानको कुरा हो,’ सन्दीपले क्रिकइन्फोसँग भने, ‘खेलाडी र क्यानबीच धेरै कुरा चलिरहेको छ । यो कठिन समयमा हामीले एक–अर्कालाई ब्याकअप गर्नुपर्छ । नेपाल क्रिकेटलाई अर्को उचाइमा पुर्‍याउन सबै खेलाडी र क्यान एक ठाउँमा आउनैपर्छ ।’

टोलीलाई हरेक माध्यमबाट अगाडि लैजान आफू तत्पर रहेको सन्दिपले बताएका छन् ।

उनी थप्छन्, ‘अहिले यो सबै कुरा देख्दा धेरै नराम्रो लाग्छ । हामीलाई यो सबै पार गर्न मद्दत गर्ने कोही छैन । धेरै उतारचढाव आएका छन् । तर हाम्रो खेलाडीहरुसँग जुन प्रकारको प्रतिभा र ठूलो हृदय छ, म ढुक्क छु कि उनीहरुले नेपालको प्रतिनिधित्व गर्नेछन् र आफुलाई प्रमाणित गर्नेछन् ।’

नेपाली टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको सन्दिपले प्रशंसा गरेका छन् ।

‘मल्ल र ऐरी नेपाली टोलीका मुख्य स्तम्भ हुन् । यद्यपी अहिले उनीहरुमाथि कप्तान र उपकप्तानको ट्याग छैन, तर मेरो लागि उनीहरु अझै पनि टोलीका उत्कृष्ट खेलाडी हुन्,’ उनले भनेका छन् ।

सन्दीप क्रिसमसपछि पुबुदु दसानायकेको नेपाल आगमनको प्रतिक्षामा छन् । २०११–१०१६ सम्म सफल कार्यकाल बिताएका दशानायकेलाई नेपालको मुख्य प्रशिक्षकमा नयाँ कार्यकालका लागि नियुक्त गरिएको छ ।

सन्दीपले नेपाललाई एकदिवसीय मान्यताभन्दा माथि उठाउन लक्ष्य पनि राखेका छन् । उनले नेपाललाई पहिलो पटक एकदिवसीय विश्वकपमा मात्र नभई ‘टेस्ट स्ट्याटस’ को दिर्घकालीन लक्ष्य हासिल गर्न प्रमुख भूमिका खेल्ने आशा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर