मिस वर्ल्डको फिनाली भोलि हुँदै : ब्यूटी विथ पर्पस र मल्टिमिडियामा नेपालको दाबेदारी – Nepal Press

मिस वर्ल्डको फिनाली भोलि हुँदै : ब्यूटी विथ पर्पस र मल्टिमिडियामा नेपालको दाबेदारी

काठमाडौं । भोलि (शुक्रबार) बेलुका नेपाली समयानुसार पौने पाँच बजे विश्व सुन्दरी प्रतियोगिताको ग्रान्ड फिनाली हुँदैछ ।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासबीच हुन लागेको ग्रान्ड फिनालीमा नेपाल अन्तिम ३० मा प्रवेश गरिसकेको छ ।

हेड-टु-हेड च्यालेन्जमा इन्डोनेसियालाई हराउँदै राउन्ड तीसमा प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठको अबको ध्यान मुख्यतः दुई उपशीर्षकमा केन्द्रित हुनेछ : ब्यूटी विथ पर्पस र मल्टिमिडिया ।

ब्यूटी विथ पर्पस विधामा नेपालले अघिल्ला मिस वर्ल्डका तीन संस्करणमा लगातार जितिरहेको छ । के नेपालले जितको त्यो लिगेसीलाई यसपटक निरन्तरता देला ?

धादिङको झोलुंगे पुलको प्रोजेक्ट प्रस्तुत गरेकी नम्रता आफ्नो जितलाई लिएर आशावादी छिन् । नेपालले यो विधामा जित हासिल गर्नु पछाडि मुख्यतः दुई कारण छन् : पहिलो समाजसँग जोडिएको विषयवस्तु र अर्को, भिडियो निर्देशन ।

मल्टिमिडिया विधातर्फ नेपाल उत्कृष्ट सातमा प्रवेश गरेको जनाइएको छ तर, त्यति मात्र पर्याप्त हुनेछैन । अन्तिम बीसमा सीधै प्रवेश गर्न नेपालले या त ब्यूटी विथ पर्पस जित्नैपर्छ या त मल्टिमिडियामा उत्कृष्ट हुनुपर्छ ।

हेड-टु-हेड च्यालेन्जमा जितेकी नम्रतालाई यो विधाको जितले उत्साह दिलाएको छ । ‘उत्साही छु र नेपालले जित्दै आएका दुई विधामा पनि राम्रो गर्नेछु’ नेपाल प्रेससँग पुएर्तो रिकोबाट नम्रताले भनिन्, ‘सकेसम्म बेस्ट दिनेछु ।’

यसपटक मिस वर्ल्डको ७० औं संस्करण हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *