क्यानका बोर्ड सदस्य भन्छन्- निर्णय गलत भयो, फिर्ता हुनुपर्छ – Nepal Press

क्यानका बोर्ड सदस्य भन्छन्- निर्णय गलत भयो, फिर्ता हुनुपर्छ

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका चार खेलाडीहरुमाथि गरेको कारवाही तीव्र विवादित बनेको छ । क्यानकै बोर्ड सदस्यहरुले यसमा खुल्ला असहमति जनाएका छन् ।

हिजो बसेको क्यानको भर्चुअल बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा कप्तान ज्ञानेन्द्र मल्लसहित चारजनालाई कारवाहीको निर्णय लिएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएको छ । यस्तै दीपेन्द्रसिंह ऐरीलाई पनि उपकप्तानबाट पदमुक्त गरिएको छ ।

संघको निर्णयमा ६ जना बोर्ड सदस्यहरुले नोट अफ डिसेन्ट लेखेका थिए । क्यानमा १७ जना बोर्ड सदस्य रहेकोमा हिजोको वैठकमा १५ जना उपस्थित थिए । ६ जनाको असहमतिका बाबजुद बहुमतका आधारमा क्यानले निर्णय लिएको हो ।

नोट अफ डिसेन्ट लेख्ने एक बोर्ड सदस्य छुम्बी लामा क्यानको निर्णय गलत र पूर्वाग्रही रहेको बताउँछन् । यसले नेपाली क्रिकेटलाई थप अस्थिर र अस्तव्यस्त बनाउने भन्दै उनले निर्णय सच्याउनै पर्नेमा जोड दिए ।

लामाले नेपाल प्रेससँग भने, ‘क्यान खेलाडीहरुको अभिभावक संस्था हो । खेलाडीहरुले वर्गीकरणमा त्रुटी भएको भन्दैमा यति ठूलो कारवाहीको निर्णय लिनु आपत्तिजनक छ ।’

लामाको भनाइ जस्ताको तस्तैः

क्यानको बोर्ड बैठकले जुन निर्णय लियो त्यसमा मेरो स्पष्ट असहमति छ । मसहित ६ जना बोर्ड सदस्यहरुले नोट अफ डिसेन्ट नै राखेका छौं ।
बोर्ड सदस्यको नाताले मेरो कुरा के हो भने खेलाडीले आफ्नो अभिभावक संस्थाको रुपमा क्यानसँग असन्तुष्टि राख्न पाउँछन् । यो उनीहरुको नैसर्गिक अधिकारको कुरा हो । उनीहरुले क्यानको प्रतिष्ठामा आँच आउने गरी आपत्तिजनक भनाइ राखेको भए कारवाहीको विषय हुन सक्थ्यो । एउटा मिडियालाई उनीहरुले ग्रेडिङमा त्रुटी भयो, राम्रा खेलाडीहरु परेनन् भनेर बोलेका मात्रै हुन् । यो सामान्य इस्यू हो । यति ठूलो कारवाहीको विषय बन्नुपर्दैनथ्यो ।

खेलाडीबाट गुनासो आइसकेपछि अभिभावकको रुपमा क्यानले यसको समाधान खोज्नुपर्थ्यो । त्रुटी भएको भए सच्याउनुपर्थ्यो । योभन्दा अगाडि पनि ग्रेडिङको विषलाई लिएर विवाद भएको थियो । त्यसबेला पनि म बोर्ड सदस्य थिएँ । अहिलेभन्दा ठूलो विवाद भएको थियो । तर, क्यानले खेलाडीहरुसँगै छलफल गरेर त्रुटी सच्याउन तयार भयो । हामीले ग्रेडिङमा आवश्यक संशोधन ग¥यौं । तर, अहिले एकदमै गलत तरिकाले क्यान अगाडि बढेको छ ।

कारवाही निकास हुँदै होइन । कारवाही पनि यस्तो बेला भएको छ कि नेपालले खेल्नुपर्ने महत्वपूर्ण प्रतियोगिताहरु संघारमा छन् । मार्चमा नै ओडीआई स्टाटसको म्याच खेल्नुपर्ने छ । ग्लोबल क्वालिफायर्स खेल्नुपर्ने छ । नयाँ प्रशिक्षक भर्खरै नियुक्त हुनुभएको छ । यस्तोमा क्रिकेट टिमलाई अस्तव्यस्त तुल्याउने गरी निर्णय लिनु विल्कुल गलत भयो । क्यानले विधि र पद्दति विपरीत गरिएको निर्णय फिर्ता लिनुपर्छ भन्ने पक्षमा हामी छौं । अभिभावकका रुपमा सबै खेलाडीहरुलाई मिलाएर क्यान अगाडि जानुपर्छ ।

टिमका ४ जना महत्वपूर्ण सदस्यहरुलाई ६ महिनाको तलव नदिने भनिएको छ । विगत १४/१५ वर्षदेखि राष्ट्रका लागि खेलिरहेका खेलाडीहरुको यो कहाँसम्मको अपमान हो ? तपाईंलाई कुनै संस्थाले तलव दिन्न काम गर्न आइज भन्छ भने जानुहुन्छ ? यस्तोमा खेलाडीहरुले राष्ट्रिय टिमबाट कुन मनोबलले खेल्लान् ?

खेलाडीहरुको वर्गीकरणमा अनावश्यक ढिलाइ हुँदा पनि या समस्या आएको हो भन्ने लाग्छ । २०२१ को वर्गीकरण  अक्टाेबर महिनामा आएर गरिएको छ ।  त्यसमा पनि सेप्टेम्बरमा नै ओमान टुरमा खेल्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी  समेटिएनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर