मेलम्चीको त्रासदी सम्झाउने फिल्म किम्फमा सर्वोत्कृष्ट – Nepal Press

मेलम्चीको त्रासदी सम्झाउने फिल्म किम्फमा सर्वोत्कृष्ट

काठमाडौं । असार १ गते राती सिन्धुपाल्चोक चनौटेमा उर्लिएको बाढीले होमनसिंह शिवभक्तीको भैंसी बगायो । आफूले माया र पूजा गर्ने भैंसी आँखैअघि इन्द्रावतीको बाढीमा बेपत्तापछि शिवभक्तीले के सोचे ?

हेलुम्ब-२ किउलबाट बगेको त्यो भैंसी चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, बाहुनेपाटीका गल्छेँडाहरु पार गर्दै कसरी सीमावर्ती काभ्रेपलाञ्चोकको फड्केश्वर पुग्यो ? कसरी उद्दारकर्ताले यो गर्भिणी भैंसीलाई उद्दार गरे ?

चर्चित छायांकार विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो फिल्म ‘गड्ज बफ्यालो’ अर्थात भगवानको भैंसीले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९ औं संस्करणमा सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ ।

उक्त फिल्मले १ हजार अमेरिकी डलर पुरस्कार समेत जित्यो ।

यही फिल्मले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधा समेत जित्दै ७५ हजार रुपैयाँ हासिल गर्‍यो । ‘निकै सरल तर, शक्तिशाली कथावाचन !’ फिल्मका जुरी मारियो कसेलाले फिल्मको नाम घोषणा गर्दै स्वीटजरल्यान्डबाट भर्चुअल माध्यमबाट भने, ‘यसले ग्रामिण जीवनलाई काब्य शैलीमा भनेको छ र मर्मस्पर्शी कथा बोकेको छ ।’

निर्देशक तथा छायांकार कल्पितले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालबाट पुरस्कार ग्रहण गरे । फिल्म निर्देशक समेत रहेका दाहालसँग आफूले दुईवटा फिल्ममा काम गरेको अनुभव सुनाउँदै कल्पितले उनकै हातबाट पुरस्कार लिन पाउँदा खुशि लागेको बताए । बोर्ड अध्यक्ष दाहालले पनि कल्पित निर्देशित फिल्मको कथा सरल भएपनि सशक्त रहेको भन्दै प्रशंसा गरे ।

नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित फिल्म ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान फिल्म बन्यो । जितसहित यो फिल्मले १ लाख रुपैयाँ नगद जित्यो । ग्रामिण महिलाको मनोवैज्ञानिक यात्राको कथा भन्ने यो फिल्मले पितृसत्तात्मक समाज र अन्धविश्वासबीचको द्वन्द्वको कथा पनि भन्छ । फिल्मका जुरी अनुप बरालले मनोवैज्ञानिक थ्रीलरको रुपमा यसलाई परिभाषित गरे ।

नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो फिल्म ‘द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जित्यो । बाल कलाकार खोज्दै गाउँ हिँडेका दुईजना फिल्म निर्माताको भोगाइको कथा यसले चित्रण गर्छ । यी दुईजना निर्देशित फिल्म ‘डम्बरे डेन्ड्राइट’ र ‘दाद्या’ यसअघि किम्फमा देखाइएका छन् भने ‘होलटाइमर’ उनीहरुको आगामी फिचर फिल्म हो ।

अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट : द हार्ड वे’ सर्वोत्कृष्ट बन्दै दुईलाख रुपैयाँ पुरस्कार जित्यो । सन् १९८५ मा १८ सदस्यीय बेलायती आरोही दलले कसरी सीमित अक्सिजन र डोरीको सहायताबिनै दक्षिण–पश्चिम मोहडाबाट सगरमाथाको सफल आरोहण गरे भन्ने चित्रण यसले गर्छ । क्रिस बोनिङ्टन लिखित सोही नामको पुस्तकमा यो फिल्म आधारित छ ।

कोलम्बियाली निर्देशक भिभियाना गोमेज निर्देशित ९२ मिनेट लामो फिल्म ‘बिट्विन फायर एन्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ । फिल्मले डेढलाख रुपैयाँ जित्यो । जनजाति अभिभावकबाट आश्रित र हुर्काइएको मुख्य पात्र क्यामिलोले आफ्नो सहि पहिचानको लागि गरेको संघर्ष यसको मुख्य कथ्य हो ।

१०५ मिनेट लामो अमेरिकी फिल्म ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो बन्दै १ लाख रुपैयाँ जित्यो । तासा भान ज्यान्डट निर्देशित फिल्मले ध्रुवीय अनुसन्धानकर्ता विल स्टिगरले अन्टार्कटिका पुगेर फर्किएपछि पृथ्वीका दुई ध्रवमा आएको वातावरणीय परिवर्तनको चित्रण यसले गर्छ । उनले अन्टार्कटिकमा अनुसन्धान र भ्रमण गर्दा डरलाग्दा चुनौति र जोखिम यसमा निहित छ ।

अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयान निर्देशित ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जित्यो । ८३ मिनेट लामो यो फिल्मले पुरुषबिनाका ९ महिना कसरी महिला, बालबालिका र वृद्धवृद्धाले गाउँमा जीवन बिताउँछन् भन्ने चित्रण यसले गर्छ ।

पाँचदिनसम्म चलचित्र विकास बोर्डमा आयोजना भएको किम्फको समापनमा डोमिनिक बुस र जोन पोर्टर निर्देशित फिल्म ‘एभरेस्ट ः बाइ दोज हु वेयर दियर –१९२१, १९२२, १९२४’ प्रदर्शन गरियो । सगरमाथा आरोहणको शताब्दी पुरा भएपनि त्यससँग गाँसिएको सम्बन्ध यसमा चित्रण छ ।

फेस्टिभलको अन्तिम दिन सोमबार दिगो आरोहण विषयमा छलफल कार्यक्रम समेत गरियो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले दिगो आरोहणका लागि हिमालय पर्वतलाई संरक्षण गर्नुपर्ने र सरकार तथा सम्बन्धित निकाय सचेत हुनुपर्ने बताइन् । जलवायु संकटविरुद्ध लड्न नेपाललाई बेलायतले सघाउने प्रतिबद्धता उनले जनाइन् ।

फेस्टिभलमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी थिए । यसपटक भौतिक उपस्थिती र अनलाइन माध्यमबाट हाइव्रिड शैलीमा किम्फ आयोजना गरिएको थियो । कोरोना महामारीको जोखिमको बाबजुद पनि फेस्टिभलमा देखिएको उत्साहजनक सहभागिताप्रति किम्फ फेस्टिभल निर्देशक रम्यता लिम्बु खुशि देखिइन् । किम्फको अफिसियल वेबसाइटमा राखिएका फिल्महरु अझै एकसाता हेर्न पाइने भएको छ ।

हिमाल एसोसियसनले आयोजना गरेको फेस्टिभलमा जलवायु परिवर्तन, लैंगिकता, महिनावारी तथा स्वास्थ्यजस्ता मुद्दामा छलफल समेत आयोजना गरिएको थियो । फेस्टिभलको शुभारम्भ चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए ।

यस संस्करणमा फिल्म निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलिन फिंक र स्वीस लेखक मारियो कासेला जुरी थिए । फेस्टिभलको प्रिमियर चाहिँ काइल रुडिक निर्देशित फिल्म ‘ड्रीम माउन्टेन’द्वारा गरिएको थियो । फेस्टिभलको अन्तिम दिन किम्फले फिल्ममेकर र विदेशी पाहुनाको लागू रात्रीभोज समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *