ए डिभिजन लिग : रवाफिलो जितसँगै मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा – Nepal Press

ए डिभिजन लिग : रवाफिलो जितसँगै मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशामा भएको चौथो चरणको खेलमा ३-० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो ।

शनिबारको खेलमा शेर्पाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रले सेटपिसमा पर्याप्त गोलका स्पष्ट मौका बनाएको थियो । आक्रामक शैलीमा मैदानमा उत्रिएको मछिन्द्रले २९औं मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिएको थियो । नुरेन करिमले करिब ४० यार्डबाट प्रहार गरेको फ्रि–किकमा पेनाल्टी एरिया भित्र रन बनाएर सुनिलले सहज फिनिस गरेका थिए ।

पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा पनि शेर्पामाथिको दबाब कायमै राखेको थियो । मछिन्द्रका मिडफिल्डर विशाल राईले ६८औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेका कर्नर शेर्पाका सुरेश कुमालले क्लियर गर्न सकेनन् । सोही मौकाको फाइदा उठाउँदै मछिन्द्रका अजरबैजानी फरवार्ड नुर्लान नोब्रुजोभले पेनाल्टी एरिया भित्रबाट गोल गर्दैै साविक विजेताको अग्रता दोब्बर पारेका थिए ।

निर्धारित ९० मिनेटपछिको इन्ज्युरी समयमा सबस्टिच्युट खेलाडी विमल घर्ती मगरले मछिन्द्रका लागि तेस्रो गोल गरे । एन्द्रेस नियाले बायाँ तर्फबाट दिएको पासलाई पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका विमलले सहजै गोलमा परिणत गरेका थिए ।

सुरुआतदेखि नै शेर्पामाथि लगातार आक्रमण गरेको मछिन्द्रले गोलका थुप्रै अवसर सृजना गरे पनि स्कोरमा कन्भर्ट गर्न सकेन । मछिन्द्रका फरवार्ड नुर्लान नोब्रुजोभले ११औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

रन्जित धिमालले दाँयातर्फबाट दिएको लामो पास शेर्पाका डिफेन्डरले जर्ज गर्न नसक्दा नुर्लानले आक्रमणको मौका पाएका थिए ।

शेर्पाका मिडफिल्डर बिसोन गुरुङले २१औं मिनेटमा मछिन्द्रका विङ्गर सुनिल बलमाथि पेनाल्टी एरिया अगाडि फाउल गरेपछि फ्रि–किक पाएको थियो । सुनिलले २२औं मिनेटमा फ्रि–किकमार्फत गरेको प्रहार शेर्पाका गोलकिपर दीप कार्कीले पन्चआउट गरेका थिए ।

मनिष डाँगीले ३३औं मिनेटमा शेर्पाका तीन डिफेन्डरलाई बिट् गर्दै पेनाल्टी एरिया भित्रबाट दिएको सुन्दर क्रसमा सुनिल ट्याप इन गर्न असफल भए । सुनिलले ६ यार्ड बक्सबाट भित्रबाट गरेको प्रहार ट्याप इन गर्न नसक्दा मछिन्द्र अग्रता दोब्बर बनाउन नजिक पुरेर चुकेको थियो ।

पहिलो हाफभर मछिन्द्रको दबाबमा रहेको शेर्पाका सुरेश कुमालले ४७औं मिनेटमा बायाँ तर्फबाट गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पञ्च आउट गरिदिएका थिए ।

पहिलो चरणमा न्युरोड टिम ९एनआरटी० विरुद्ध २–१ को जित निकालेको मछिन्द्र दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै, तेस्रो खेलमा जावलाखेल युथ क्लबलाई २–० को नतिजामा पराजित गरेको थियो ।

पहिलो चरणमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको शेर्पा दोस्रो चरणमा मनाङ मर्स्याङदी क्लबसँग १–० गोलको नतिजामा पराजित भएको थियो । यस्तै, तेस्रो चरणमा नेपाल पुलिस क्ल्बसँग १–१ गोलको बराबरी खेलेको थियो ।

जितसँगै मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ । पराजित शेर्पा ४ खेलबाट २ अंकसहित तालिकाको १२औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर