ए डिभिजन लिग : एनआरटीको पहिलो जित, सातदोबाटोको पहिलो हार – Nepal Press

ए डिभिजन लिग : एनआरटीको पहिलो जित, सातदोबाटोको पहिलो हार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबलाई १–० गोलको नजितामा पराजित गरेसँगै सिजनको पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सनिबार भएको पहिलो खेलमा एनआरटीकालागि ४६औं मिनेटमा मेसुकेको क्रसमा स्टेफेन समिरले बिनङ निर्णायक गोल गरे ।

पहिलो हाफको करिब पूरा समय रक्षापंक्तिमा व्यस्त भएको एनआरटीले दोस्रो हाफभर सातदोबाटोलाई दबाबमा राखेको थियो ।

कप्तान मानबहादुर तामाङको क्रसमा फरवार्ड निरज चौधरीले १३ औं मिनेटमा हेडरमार्फत गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाएका थिए ।

सातदोबाटोका आकाश बुढा मगरले ३५औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

एनआरटीका सरोज तामाङले ३९औं मिनेटमा १८ यार्ड बक्स भित्रबाट गरेको सशक्त प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा सरोज तामाङले दायाँतर्फबाट दिएको क्रसमा एनआरटीका फरवार्ड समिरको हेडर प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो ।

६०औं मिनेटमा समिरले पेनाल्टी एरिया भित्रबाट गरेको सशत्तः प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाएका थिए ।

एनआरटीका फरवार्ड दर्शन गुरुङविरुद्ध वान् भर्सेज वान्मा सातदोबाटोका गोलकिपर अभिषेकले ६५औं मिनेटमा उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो चरणमा फ्रेन्डस क्लबसँग बराबरी खेलेको सातदोबाटोले दोस्रो चरणमा थ्री–स्टार क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो । यस्तै तेस्रो चरणको खेलमा एपीएफ क्लबलाई ४–१ को नतिजामा पराजित गरेको सातदोबाटोको यो पहिलो हार हो ।

यस्तै, पहिलो चरणमा मछिन्द्र फुटबल क्लबसँग २–१ ले पराजित भएको एनआरटीले दोस्रो चरणमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो चरणमा पनि च्यासलसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

जितसँगै एनआरटी ४ खेलबाट ५ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो भने समान खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर