निखिलको ‘महंगो’ डिभोर्सः २० वर्षपछि टुट्यो सगोत्री विवाह (अन्तरकथा) – Nepal Press

निखिलको ‘महंगो’ डिभोर्सः २० वर्षपछि टुट्यो सगोत्री विवाह (अन्तरकथा)

काठमाडौं । नेपाली चलचित्रका ख्यातिप्राप्त नायक निखिल उप्रेतीको वास्तविक जीवन पनि कुनै चलचित्रभन्दा कम छैन । दुईवटा वैवाहिक सम्बन्धको जंजालमा फँसेर उनले आफ्नो निजी जीवनलाई लगभग अस्तव्यस्त नै तुल्याए । खैर, अब उनी यो झमेलाबाट बाहिर निस्केका छन् ।

हालै जेठी पत्नी कोपिला उप्रेतीसँग निखिलको औपचारिक सम्बन्धविच्छेद भएको छ । निखिलले गत साउनमा कोपिलासँगको २० वर्ष पुरानो वैवाहिक सम्बन्धलाई कानूनीरूपमा अन्त्य गरेका हुन् । व्यवहारिकरूपमा भने उनीहरू करिब १३ वर्षदेखि अलग थिए ।

औपचारिक डिभोर्सपछि निखिलमाथि लाग्ने गरेको बहुविवाहको आरोपबाट मुक्ति त मिलेको छ, तर तनावका विषयहरू सकिएका छैनन् । खासगरी आर्थिक व्यवस्थापनको पाटो आगामी दिनमा उनका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ । दोहोरो सम्बन्धमा पार पाउने क्रममा उनले आफू रित्तिएर पूर्वश्रीमतीको झोली भरिदिने सम्झौता गरेका छन् ।

निखिलले चलचित्र क्षेत्रमा गरेको कमाइबाट जोडेको सम्पत्तिका रूपमा भक्तपुरमा एउटा घर थियो । पाँच  आना क्षेत्रफलमा रहेको उक्त घर उनले जेठी श्रीमतीलाई सुम्पिएका छन् । हाल यो घरको मूल्य करिब साढे ४ करोड पर्ने बताइन्छ । साथै, निखिलले प्रत्येक महिना कोपिलालाई ५० हजार रूपैयाँ भरणपोषण खर्च दिने सम्झौता गरेका छन् ।

कोपिलालाई घरजग्गा सुम्पिएका निखिल आफू चाहिँ कान्छी श्रीमती सञ्चिता लुईंटेलसँग भाडाको घरमा बस्छन् । केही महिनाअघि मात्रै उनीहरु खुमलटारमा एउटा अपार्टमेन्ट भाडामा लिएर बस्न थालेका हुन् । उनीहरुसँग एक छोरा र एक छोरी छन् ।

यी त भए, अहिले सार्वजनिक भइसकेका विषयवस्तु । निखिल र कोपिलाबीचको वैवाहिक सम्वन्ध विसर्जनको बिन्दुसम्म आइपुग्दा यसभित्र धेरै उपकथाहरू गाँसिएका छन्, जसलाई यहाँ सिलसिलेवार प्रस्तुत गरिएको छ ।

सगोत्री सम्बन्ध र विवाह

निखिल कोपिलाबीचको वैवाहिक सम्बन्ध सामाजिक-सांस्कृतिक मान्यताका हिसाबले गलत थियो । बुझिएअनुसार उनीहरुको थर एउटैमात्र होइन, टाढाको नाताले ‘दिदी-भाइ’पर्छन् । उमेरले आफूभन्दा जेठी कोपिलालाई निखिल ‘फुपू’भन्ने गर्थे ।

सर्लाहीका निखिल र धादिङ नौबिसेकी कोपिला काठमाडौंमा कलेज पढ्दै गर्दा भेट भएका थिए । फरक-फरक कलेज पढ्ने भए पनि उनीहरुको बस्ने ठाउँ मिलनचोकमा सँगै थियो । एउटै थर र सगोत्री भनेर जान्दाजान्दै उनीहरु प्रेममा परे र छुट्टिनै नसक्ने भए ।

४-५ वर्षको प्रेमपश्चात निखिल र कोपिलाले पारिवारिक विद्रोह गर्दै विवाह गरे । निखिलले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पिँजडा’ रिलिज भएको केही महिनापछि उनीहरूको विवाह भएको हो । २०५८ साल फागुन २३ गते कालीमाटीस्थित पचलीभैरवमा उनीहरुले लगनगाँठो कसेका थिए । उनीहरूको सगोत्री विवाहलाई लिएर दुवैका परिवार तथा आफन्तले आपत्ति जनाएका थिए । तर, विवाह भइसकेपछि स्वीकार्न कर लाग्यो ।

पहिलो फिल्म ‘पिँजडा’ हिट भएपछि निखिलको फिल्मी करिअरले ह्वात्तै उछाल लियो । केही समयमै उनी सर्वाधिक चर्चित र व्यस्त नायक बन्न पुगे । तर, श्रीमतीसँगको सम्वन्ध भने बिग्रिन थाल्यो ।

समकालीन एक नायिकासँग निखिल नजिकिएपछि उनीहरुबीच खटपट सुरु भएको थियो । ती नायिकाले पछि अर्कैसँग बिहे गरिन् । तर, पनि निखिल र कोपिलाको सम्वन्धमा फेरि बहार फर्किएन ।

विवाहपछि निखिल र कोपिला सिनामंगलमा भाडाको फ्ल्याटमा बस्थे । फिल्मबाट भएको कमाइमा केही ऋण थपेर निखिलले २०६६ सालमा भक्तपुरमा घर बनाए । कर थोरै तिर्नुपर्छ भनेर त्यो घर उनले कोपिलाका नाममा पास गरेका थिए । त्यसैले डिभोर्सका क्रममा त्यो घरमा दाबी गर्न कोपिलालाई सजिलो भयो ।

निखिल-सञ्चिता प्रेम र विवाह

कोपिलासँगको दाम्पत्य सम्बन्धमा दरार आइरहेका बेला निखिलले भेटे सञ्चिता लुईंटेल । यो २०६२ सालतिरको कुरा हो ।

सञ्चिता चलचित्र क्षेत्रमा आशालाग्दी नायिकाको रूपमा उदाएकी थिइन् । ‘अप्सरा’ बाट फिल्म उद्योगमा डेब्यू गरेकी सञ्चिताले कलिलै उमेरमा पहिलो विवाह गरिन्, जुन लामो समय टिक्न सकेन । पहिलो श्रीमानसँग डिभोर्स लिएर एकल जिन्दगीमा बिताइरहेकी उनी निखिलसँग चलचित्रमा सहकार्य गर्ने क्रममा नजिकिएकी थिइन् ।

केही चलचित्रमा सँगै अभिनय गरेका निखिल-सञ्चितालाई हिट जोडीका रुपमा लिन थालिएको थियो । उनीहरुको कमेस्ट्री चलचित्रको पर्दाभित्र मात्र नभएर बाहिर पनि जम्न थाल्यो । सञ्चिताको भर्खरै वैवाहिक सम्वन्ध टुटेको र निखिलको पनि टुट्ने अवस्थामा पुगेका बेला उनीहरू प्रेममा परे ।

उनीहरूको सम्बन्धलाई निखिलको परिवारबाट पनि ‘ग्रीन सिग्नल’ प्राप्त भयो । कोपिलासँग हाडनाताभित्रको विवाहलाई लिएर सन्तुष्ट नरहेका निखिलका परिवार सञ्चितालाई बुहारी बनाएर भित्र्याउन इच्छुक भए । निखिलका बुबा, दाजुहरूले नै सञ्चितासँग कुरा गरेर विवाह तय गरेका थिए । जेठी श्रीमतीसँगको सम्बन्धलाई चाँडै अन्त्य गर्ने समझदारीका आधारमा सञ्चिता निखिलकी दोस्रो पत्नी बन्न राजी भइन् ।

निखिल र सञ्चिताको विवाह सन् २००८ मा सर्लाहीको पिपरभित्तास्थित निखिलको घर नजिकै रहेको भुवनेश्वरी मन्दिरमा भएको थियो । सानो समारोहमा भएको विवाहमा निखिलका परिवार उपस्थिति भए सञ्चिताको परिवारबाट कोही पनि थिएनन् । सञ्चिताले आफ्नो परिवारको मञ्जुरीबिना यो विवाह गरेकी थिइन् ।

निखिल र सञ्चिताका एक छोरा र एक छोरी भए । एक वर्षको अन्तरालमा सञ्चिताले दुई सन्तान जन्माएकी हुन् । उनले सर्लाहीमा रहेको निखिलकै घरमा छोराछोरीको न्वारन, पास्नी गराएकी थिइन् । निखिल र सञ्चिताको विहे दर्ता तथा छोराछारीको जन्मदर्तासमेत सर्लाहीबाटै भएको छ । पछिल्लो समयमा भने सञ्चिता छोराछोरीसहित बानेश्वरमा रहेको माइतीघरमा बस्दै आएकी थिइन् ।

दोहोरो सम्बन्धले जटिलता

सञ्चितासँग विवाहपछि पनि निखिलले कोपिलासँगको सम्बन्धले पूर्णरुपमा बिट मार्न सकेनन् । उनलाई मिडिया र समाजले दुत्कार्ने अत्यधिक डर थियो । त्यसैले कोपिलालाई श्रीमतीकै दर्जा दिएर जिम्मेवारी बहन गरिरहे ।

कोपिलाले प्रत्येक महिना निखिलले आफूलाई ५० हजार रुपैयाँ दिँदै आएको बताएकी छन् । कहिलेकाहीँ पैसा नपाउँदा उनी निखिललाई खोज्दै सुटिङ स्पट वा अन्य कार्यक्रममा पुग्थिन् । दुई वर्षअघि एउटा घटना मिडियामा समेत आएको थियो ।

निखिलले आफ्नै व्यानरमा चलचित्र ‘कमिटमेन्ट’ निर्माण गर्ने तयारी गरेका थिए । सो चलचित्रको घोषणा कार्यक्रम आयोजना गरिएको थियो, लाजिम्पाटस्थित नेपाली चुल्हो रेस्टुरेन्टमा । उक्त कार्यक्रममा निखिलको जानकारीबिनै कोपिला छोरा लिएर पुगेकी थिइन् । कोपिलाको अनायाश उपस्थितिले झण्डै उक्त कार्यक्रम नै विथोलिन पुगेको थियो ।

दर्शकमाझ राम्रो छवि बनाएका निखिलले बहुविवाहको आरोप भने निरन्तर सामना गरिरहनुपर्‍यो । कोपिलाले निखिल-सञ्चितामाथि बहुविवाहको मुद्दा दायर गरिनन्, तर डिभोर्सका लागि पनि तयार भइनन् । फलतः निखिलले समानान्तररूपमा दुई सम्वन्धलाई निरन्तरता दिन र दोहोरो जिम्मेवारी निभाउन बाध्य भए ।

कोपिला भक्तपुरमा निखिलले बनाएको घरमा बस्ने गर्थिन् । निखिलले सो घर छोड्न कोपिलालाई दवाव दिएनन् । बरु दोस्रो विहेपछि सञ्चितालाई लिएर २०६६ सालमा मुम्बइतिर लागे ।

२०६६ साल असोज ६ गते कोपिलाले पहिलो सन्तानका रूपमा छोरा जन्माएकी थिइन् । पहिलो सन्तान जन्मेको ६ महिनापछि चैत १ गते निखिल बलिउडमा संघर्ष गर्न भन्दै मुम्बई गएका थिए । नेपाली चलचित्र क्षेत्रमा हैकम जमाइरहेकै अवस्थामा पारिवारिक झमेला मिलाउन नसकेर उनी मुम्बइ लागेको बताइन्छ ।

निखिल करिब पाँच वर्ष मुम्बई बसेर काठमाडौं फर्किए । त्यसपछि फेरि नेपाली चलचित्रमा सक्रिय हुन थाले । काठमाडौंमा उनी दुवै श्रीमतीसँग नबसी शान्तिनगरमा रहेको दिदीको घरमा बस्ने गर्थे ।

जेठी श्रीमतीलाई छोडे पनि निखिल आफूसँग नबसेकोमा सञ्चिता खुशी थिइनन् । यही विषयलाई निखिलकी दिदी र सञ्चिताको झगडासमेत भएको थियो । अहिले पनि नन्द-आमाजुबीच बोलचाल छैन । निखिलको परिवारका अन्य सदस्यहरुसँग भने सञ्चिताको सम्बन्ध राम्रो छ ।

निखिल र सञ्चिताले बिहे गरेको खबर लामो समयसम्म गोप्य राखेका थिए । उनीहरू दुवै कन्ट्रोभर्सीसँग अत्यधिक डराउने कलाकार हुन् । अहिले पनि उनीहरु विवाहको विषयमा मिडियामा बोल्दैनन् । निखिल दुवै श्रीमतीहरुसँग सार्वजनिक कार्यक्रममा हत्पत्ति देखिँदैनन् ।

एउटै फिल्डमा भए पनि निखिल र सञ्चिता फिल्मी कार्यक्रममा एकाधपटक मात्रै सँगै देखिएका छन् । निखिलले निर्माण/निर्देशन गरेको फिल्ममा सञ्चितालाई अभिनय गराएनन् । बरु सञ्चिताकी बहिनी शिवानीलाई उनले आफ्नो चलचित्र ‘कमिटमेन्ट’ मा डेब्यू गराउने तयारी गरेका थिए, तर त्यो फिल्म निर्माण हुन सकेन ।

पछिल्लो समयमा निखिल र सञ्चिताबीच बलियो विश्वास र समझदारी देखिन्छ । एक-अर्काका हरेक काममा उनीहरूले साथ दिँदै आएका छन् । निखिलले हालै सुरू गरेको आध्यात्मिक अभियानमा सञ्चिता पनि साथसाथै हिँडिरहेकी छिन् ।

कोपिलाका आफ्नै दु:ख

निखिल र सञ्चिताको विवाहको खबरबारे कोपिला गुमराहमै थिइन् । उनीहरु बिहे गरेर मुम्बई गएको समाचार मिडियामा छ्याप्छ्याप्ती आएपछि कोपिला छोरा च्यापेर निखिललाई भेट्न मुम्बइ नै पुगिन् । त्यहाँ उनी पुग्दा निखिलसँग सञ्चिता थिइनन् । त्यसैले ढुक्क भएर नेपाल फर्किइन् । तर, अन्ततः विवाहको खबर सत्य ठहरियो ।

निखिलले सञ्चितासँग विवाह गरेपछि कोपिलासँग उनको दूरी झन् बढ्यो । त्यसयता उनी आफ्नो छोरासित बस्दै आएकी छन् । निखिल र कोपिला अलग बस्न थालेको १३ वर्षभन्दा बढी भइसकेको छ । यद्यपि, निखिल बेलाबखत श्रीमती र छोरालाई भेट्न जाने गर्थे ।

कोपिला बिहेअघि गोपिकृष्ण एफएममा काम गर्थिन् । विहेपछि भने उनी घरको चुलोचौकोमै सीमित भइन् । मास्टर्ससम्मको अध्ययन गरेको भए पनि उनले जागीर नखाइ छोरा हुर्काएर बसिन् ।

सरल स्वभावकी कोपिलाको अहिले पनि निखिलप्रति उत्तिकै प्रेम र सद्भाव देखिन्छ । उनले कहिले पनि मिडियामा आएर निखिलको आलोचना गरेकी छैनन् । पछिल्लो समयमा निखिल र सञ्चिताले अपार्टमेन्ट भाडामा लिएर छुट्टै बस्न थालेपछि उनले औपचारिक डिभोर्स गर्ने निर्णय लिएकी हुन् । फेसबुकमा उनले निखिलप्रति आफ्नो अझै मायाप्रेम कायम रहेको भन्दै स्टाटस लेखेकी थिइन् । उनीहरूको डिभोर्स पनि सौहार्दतापूर्वक भएको देखिन्छ । तथापि, निखिलको तर्फबाट यसबारे कुनै पनि वक्तव्य आएको छैन ।

रित्तिएका निखिल

निखिल अहिले आर्थिक हिसाबले सबल अवस्थामा छैनन् । उनीसँग पुर्ख्यौली सम्पत्तिबाहेक ‘आफ्नो’ केही छैन ।

दुई वर्षदेखि चलचित्र उद्योग ठप्प रहेकाले आम्दानीको मुख्य स्रोत बन्द भएको छ । उनले घोषणा गरेको चलचित्र ‘कमिटमेन्ट’ पनि निर्माण हुन सकेन । पाँच करोडमा बनाउने भनेको सो चलचित्रका लागि करिब १ करोड खर्च भइसकेको थियो ।

निखिल अहिले ‘समबोधी’ नामको अभियानमार्फत आध्यात्मिक जागरण फैलाउँदै हिँडिरहेका छन् । उनी चलचित्र निर्माणका लागि पनि व्यग्र छन्, तर परिस्थिति सहज छैन । फेरि कोरोनाको नयाँ भेरियन्टको त्राश फैलिएको बेला चलचित्र क्षेत्रकै भविष्य अनिश्चित छ । एकातर्फ आफू बसिरहेको अपार्टमेन्टको भाडा र परिवारको भरणपोषण तथा अर्कोतर्फ जेठी श्रीमतीलाई मासिक ५० हजारको सुनिश्चितता गर्नुपर्ने दबाब उनलाई छ ।

यद्यपि, सबै परिस्थिति सहज भएको अवस्थामा निखिलका लागि यो त्यति ठूलो इस्यू भने होइन । श्रीमती सञ्चिता पनि कलाकारितामा स्थापित अभिनेत्री नै हुन् । उनी म्युजिक भिडियो, विज्ञापनहरूमा पनि काम गरिरहेकी छिन् भने रेस्टुरेन्टमा पनि लगानी गरेकी छन् । श्रीमान्-श्रीमती समझदारीपूर्वक अघि बढे यो जोडीका आगामी दिनहरू सुखद हुने आशा राख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *