सुरु भयो लुम्बिनीमा योजना सम्मेलन – Nepal Press

सुरु भयो लुम्बिनीमा योजना सम्मेलन

रुपन्देही । राष्ट्रिय योजना आयोग, सातै प्रदेशका योजना आयोगका पदाधिकारी, सचिव तथा अधिकारीहरु लुम्बिनी प्रदेशको मुकाम बुटवलमा भेला भएका छन् ।

लुम्बिनी प्रदेश योजना आयोगद्वारा बुटवलमा आयोजित दुई दिने योजना सम्मेलन २०७८ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराम काफ्ले, प्रदेश नं २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहभागी भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले ‘प्रादेशिक योजना तथा बजेट तर्जुमा, परियोजना बैंक र सम्भाव्य लगानीका क्षेत्रहरु, तहगत समन्वयः समस्या, चुनौती र भावी कार्यदिशा’ विषयक अवधारणा राखेका थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगबाट निर्माण भएको एमटिइएफ, परियोजना बैंक र वित्तीय हस्तान्तरण सम्बन्धी विद्युतीय प्रणाली सबै प्रदेश योजना आयोगहरुलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्धारित समयमा योजना सम्पन्न नभएका कारण सुरुको लागत अनुमानभन्दा ६ गुणासम्म लागत बढेकाले अधिकांश योजना सफल नभएको स्वीकार गर्दै यसका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री केसीले समयमै योजना सम्पन्न गर्न र अनावश्यक लागत बढ्न नदिन नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् ।

जनप्रतिनिधि तथा राजनीतिक दल, कर्मचारी संयन्त्र र तीनै तहका सरकारबीच सहमति,सहकार्य र समन्वय गरेर अगाडि बढेमात्रै योजना सफल हुने भन्दै उनले प्रदेश सरकार त्यसका लागि तयार रहेको बताए ।

मुलुकमा राजनीतिक परिवर्तन भए पनि आमनेपाली जनताले त्यसबाट आशातित लाभ लिन नसकेको भन्दै मुख्यमन्त्री केसीले एकअर्कालाई दोषारोपण गरेर उम्कने छुट कसैलाई नभएको बताएका थिए ।

सुन्दा आनन्द लाग्ने राम्रो भाषण गरेर र कागजीरुपमा राम्रा योजना बनाएर मात्रै केही नहुने भन्दै उनले अब जनताले परिवर्तनको अनुभूति गर्नेगरी परिणाममुखी काम गरेर देखाउने बेला आएको बताए ।

‘हामीले बनाएका योजनाहरु किन सफल भएनन् भन्ने विषयमा निर्ममतापूर्वक समीक्षा गर्न जरुरी छ, कहाँ के कति कमीकमजोरी भएका छन् त्यसमै प्रहार गर्नुपर्ने आवश्यकता देखियो’, उनले भने ।

उचित वित्त व्यवस्थापननै मुलुकको समृद्धिको आधार भएको बताउँदै मुख्यमन्त्री केसीले जनताको आवश्यकता र औचित्यताको आधारमा वित्तीय व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्माले योजना आयोगका योजना कसरी समयमै कार्यन्वयन गर्न सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *