किम्फ मंसिर २३ देखि काठमाडौंमा हुँदै : २८ देशका ६० फिल्म देखाइने – Nepal Press

किम्फ मंसिर २३ देखि काठमाडौंमा हुँदै : २८ देशका ६० फिल्म देखाइने

'थ्री इडियट्स' फिल्मका सोनम वाङचुकले  कि-नोट स्पिच दिने

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी फिल्म अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितीमा देखाइने भएको छ ।

कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकाले यसपटकको किम्फ हाइब्रिड शैलीमा गर्न लागिएको हो । यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ ।

उक्त उपशीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको जनाइएको छ ।

किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण (किनोट) प्रस्तुत हुने भएको छ । चर्चित बलिउड फिल्म ‘थ्री इडियट्स’ सोनमकै जीवनमा आधारित रहेको बताइन्छ ।

यसवर्ष किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा फिल्मका प्रतिस्पर्धा पनि गरिने भएको छ । किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टीकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् भने नेपाली फिल्ममेकरले बनाएका फिल्महरु नेपाली पानोरममा हेर्न पाइनेछ ।

फेस्टिभलमा अनलाइन देखाइने फिल्महरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सव अवधिभर हेर्न सक्नेछन् ।

किम्फ २०२१ को निर्णायक मण्डलमा स्विस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने तीन फिल्म (छानिएा ४० मध्येबाट) र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म (छानिएका १३ वटा मध्येबाट) निर्णय गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितिय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजारको पुरस्कार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

यसपटकको संस्करणमा फिल्म निर्माता, फिल्मप्रेमी, समीक्षक, विद्धान, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितीमा छलफल, व्याख्यान र तस्बिरहरुको प्रदर्शनी र कलार परियोजना संचालन हुने भएका छन् ।

अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा मेरो खोज यात्रा नामक स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्डको नेपाली अनुवाद तथा सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड लगायत फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

किम्फमा ब्रेकिङ कोड रेड– डिग्निटी विथ डेन्जर शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा वातावरणसम्बन्धी संवाद र छलफल पनि प्रस्तुत हुने जनाइएको छ ।

महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ । क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ ।

किम्फका अध्यक्ष बसन्त थापाले महोत्सवमा देखाइने फिल्म र यसमा समाविष्ट कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाको बारेमा हुने संवादमा संलग्न गराउने बताए ।

हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फ २०२१ को सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ ।

आयोजित प्रेसमिटमा किम्फको ट्रेलरसहित हिमालय क्षेत्रमा चितुवाको संरक्षण र फोहोर व्यवस्थापनबारेका दुई छोटा फिल्म पनि प्रदर्शन गरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *