किन अचाक्ली बढिरहेछ खाने तेलको मूल्य ? – Nepal Press

किन अचाक्ली बढिरहेछ खाने तेलको मूल्य ?

रुपन्देही । बजारमा खाने तेलको मूल्य बढेपनि उपभोक्तालाई के कारणले बढेको पत्तो छैन । अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्य बढेपछि खाने तेलको मूल्य बढेको उद्योगीको भनाइ छ ।

उत्पादक र व्यापारीले यहीं अन्यौलतालाई छोपेर धेरै मूल्य बढाएकाले उपभोक्तालाई मार परेको हो । तेल उद्योगी, थोक बिक्रेता र खुद्रा बिक्रेताले आवश्यकभन्दा बढी मुनाफा राखेपनि कुनै निकायबाट यसको अनुगमन हुन सकेको छैन । उनीहरुका आआफ्नै बलिया संगठन छन् तर संगठन नै नभएका उपभोक्ता खुद्रा बिक्रेताले भनेकै मूल्य तिर्न बाध्य छन् ।

नेपालका ठूला उद्योगीहरुले क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशबाट तोरी ल्याउने हो, उहीँ तोरीको मूल्य बढेकाले यहाँ बढेको हो– रुपन्देहीको गोविन्द आयलका संचालक बृजेश अग्रवाल भन्छन् । अहिले हामीले घाटा नै खाएर चल्नुपरेको छ तर उपभोक्ताले धेरै मूल्य दिनुपरेको सुनेका छौं, कोरोनाकालमा रहेको संकट देखाएर केही खुद्रा व्यापारीले बढी मूल्य लिएको सुनेका छौं, सरकारले तत्काल छानविन गरोस्–उद्योगी अग्रवालको भनाइ छ ।

‘उद्योगीले लगानी र लागतअनुसारको मुनाफा नै लिनपाउने अवस्था छैन तर उपभोक्ता मारमा परेको दोष हामीलाई पनि आएको छ यो राम्रो होइन, यहाँ भारतको खुला बार्डरबाट आउने गुणस्तरहीन तेलले पनि अर्को समस्या थपेको छ’, त्यो सस्तो हुन्छ, ‘अग्रवालले भने, ‘हामीले १३ प्रतिशत भ्याट तिर्नुपरेको छ, बिजुलीको उस्तै समस्या छ, कामदार र यातायातको उस्तै समस्या छ, भारतमा यी समस्या धेरै कम भएकाले मूल्य सस्तो भएको हो ।’ उनका अनुसार २ सय ३८ रुपैयाँ प्रतिलिटरमा उद्योगीले दिएको तोरी तेलको मूल्य बजारमा ३ सय ४० रुपैयाँभन्दा माथि रहेको छ ।

गतवर्षको माघ महिनामा खुद्रा मूल्य प्रतिलिटर २ सय २० रुपैयाँ रहेको खाने तेलको मूल्य अहिले ३४० पुगेको छ । यस अवधिमा सबैभन्दा बढी धारा तोरी तेलको मूल्य सबैभन्दा बढी बढेको छ । धारा तेलमा सबै कोलमा पेलिने भएकाले केही महंगो पर्ने उद्योगीको भनाइ छ ।

बजारमा पाइने ब्राण्डेड तेलहरु भन्दा बढी मूल्य स्थानीय तेल मिलहरुमा पाइने तोरी तेलहरुको बढेको उपभोक्ताहरु बताउँछन् ।

अहिले स्थानीय तेल मिलहरुले तोरीको तेल ४ सय १० भन्दा माथिको मूल्यमा बिक्री गरिरहेका छन् । यसअघि ३ सय २० रुपैयाँमा बिक्री भइरहेको थियो ।

सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल)को मूल्य पनि सोही अनुपातमै महंगिएको छ । गतवर्ष माघ महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकोमा अहिले २६० र सनफ्लो तेलको मूल्य १५० बाट २६० रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापारी अशोक न्यौपानेका अनुसार तोरीको तेल कसरी महंगो भएको आफूलाई जानकारी नभएको तर खरिद मूल्यमा प्रति लिटर १० रुपैयाँ राखेर बेच्ने गरेको बताउँछन् ।

यसैगरी वनस्पती घिउको मूल्यसमेत दोब्बर भएको बेकरी उत्पादकहरु बताउँछन् । बेकरी उत्पादनका लागि प्रयोग हुने बनस्पति (डाल्डा) घिउको मूल्य गतवर्षको माघ महिनामा प्रति १३ किलो १८ सय रुपैयाँ रहेकोमा अहिले ३६ सय रुपैयाँ पुगेको छ ।

बेकरी उत्पादक रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बावुराम बोहोराका अनुसार बनस्पति घिउको मूल्य आकाशिएको मात्र होइन बजारमा अभाव छ ।

खाने तेलसंगै दैनिक उपभोग्यका अन्य सामग्र्रीहरुको मूल्य अत्यधिक बढेको भएपनि उपभोक्ता अधिकारकर्मीहरु मौन छन् । भान्सामा अत्याधिक प्रयोग हुने मसुरो, मास, मुगी, रहर दालको मूल्य पछिल्लो एक बर्षमा किलोमा ४५ रुपैयाँसम्म मूल्य बढेको छ ।

लकडाउन अघिसम्म १४० रुपैयाँ किलो रहेको रहर दाल अहिले १ सय ७० रुपैयाँ रहेको छ भने मसुरोको दाल गतवर्ष भन्दा ५५ रुपैयाँले बढेको छ । अहिले मसुरोको दाल १५० रुपैयाँ रहेको छ ।

त्यसैगरी मासको दाल किलोको १ सय ६५ रुपैयाँ, मुगीको दाल किलोको २ सय ५ रुपैयाँमा बिक्री भइरहेको छ । केराउमा ६० रुपैयाँले मूल्यवृद्धि भएको छ भने चनामा प्रतिकिलो ४५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ ।

उपभोक्ता हित संरक्षण मन्च लुम्बिनीका कोषाध्यक्ष ऋषिराम आचार्यले संक्रमणकालीन अवस्थामा फाइदा बढी लिने समूह बढेकाले यस्तो हुने बताउँदै स्थानीय प्रशासनलाई आफूहरुले सचेत बनाइरहेको बताउँछन् ।

उनले उपभोक्तालाई आफ्ना अधिकारका बारेमा सचेत गराउँदै लागत मूल्यका आधार मुनाफा लिने प्रणालीलाई सबै मिलेर अगाडि बढाउनुपर्ने सुझाव दिन्छन् । स्थानीय सरकारले पनि मूल्य नियन्त्रणमा राख्ने कामलाई निरन्तर ध्यान दिनुपर्ने आचार्य बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *