केन्द्र मोसनले पल र मलिकालाई लिएर फिल्म नबनाउने, प्रदीप भट्टराईसँग सहकार्य गर्ने – Nepal Press

केन्द्र मोसनले पल र मलिकालाई लिएर फिल्म नबनाउने, प्रदीप भट्टराईसँग सहकार्य गर्ने

काठमाडौं । केन्द्र मोसन पिक्चर्सले ६ महीनाअघि पल शाह र मलिका महतलाई लिएर फिल्म बनाउने घोषणा गरेको थियो । म्युजिक भिडिओमा हिट जोडीलाई लिएर फिल्म बनाउने घोषणा गरिरहँदा केन्द्र मोसन सुरुमा उत्साहित पनि सुनिएको थियो तर, परिस्थिती अहिले उल्टिएको छ ।

पल र मलिकालाई लिएर उसले बनाउने भनेको फिल्म अनिश्चितकालका लागि स्थगित भएको छ । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धमा पल विवादित भएपछि केन्द्र मोसनले उनीमाथि जोखिम लिन नचाहेको हो ।

केन्द्र मोसनसँग मिलेर हिट म्युजिक भिडिओहरु पस्किएका पललाई यो निर्णयले धक्का पुगेको छ । निकट स्रोतका अनुसार समीक्षासँगको विवादमा पल मुछिनु र विवादित हुुनलाई फिल्म स्थगनको मुख्य कारण मानिएको छ । साथै पछिल्लो समय पलको व्यवहारलाई लिएर केन्द्र मोसन असन्तुष्ट समेत रहेको बुझिएको छ ।

‘पलजीमा पछिल्लो समय मपाइत्व बढी देखियो र उहाँ एकपछि अर्को विवादमा मुछिँदै जानुभयो’ केन्द्र मोसन निकट स्रोतले नेपाल प्रेसलाई भन्यो । बजारमा पलको स्टार भ्यालू सोचेजस्तो ठूलो नरहेको पाइएकाले समेत फिल्म बनाउने योजना रोकिएको केन्द्र मोसनले जनाएको छ ।

फिल्मको स्क्रिप्ट तयार भएपनि भविष्यमा यसमाथि फिल्म बनेपनि पल र मलिकालाई नलिइने केन्द्र मोसनले जनाएको छ ।

पलमात्र होइन, उक्त निर्माण कम्पनी मलिकासँग पनि असन्तुष्ट रहेको स्रोतले बतायो । सुरुमा केन्द्र मोसनकै फिल्ममा काम गर्ने सहमती विपरित मलिकाले सल्लाहबिनै सत्यम फिल्म साइन्ड गरेकोप्रति कम्पनी असन्तुष्ट रहेको बुझिएको छ ।

व्यक्तिगत कारण देखाउँदै मलिकाले यसैसाता पलसँगको फिल्म सत्यम नखेल्ने निर्णय गरेकी थिइन् । सत्यम फिल्म छाड्ने उनको निर्णयलाई पल–समीक्षा विवादकै एउटा साइड–इफेक्ट मानिएको छ ।

अर्कोतर्फ, पल र मलिकाबीच सुखद सम्बन्ध नरहेकाले पनि फिल्म निर्माणको योजना त्यागिएको स्रोतको दावी छ । तर, केन्द्र मोसनले सहमतीअनुसार पल र मलिकासँग एउटा म्युजिक भिडिओ बनाउने तर, यो अन्तिम हुनसक्ने दावी पनि स्रोतको छ ।

पल र मलिकाले सत्यम फिल्ममा सहकार्य नगर्ने निश्चित भएपछि अब केन्द्र मोसनले प्रदीप भट्टराईले निर्देशन गर्ने एक फिल्मको निर्माणमा सहकार्य गर्ने भएको छ । तर, यो फिल्ममा पल र मलिका दुबै हुनेछ्रैनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *