सरकारले गर्‍यो सीसीएमसी खारेज, अब प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सीसीएमसीसी – Nepal Press

सरकारले गर्‍यो सीसीएमसी खारेज, अब प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सीसीएमसीसी

सीसीएमसी सीइओ बालानन्द शर्मा पदमुक्त

काठमाडौं । सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गरेको छ । त्यसको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी) गठन भएको छ ।

सीसीएमसी गठनसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै २०७२ साल जेठ ५ मा ल्याइएको कोभिड-१९ सं‍कट व्यवस्थापन अध्यादेश खारेज गरेर नयाँ संरचना बनाइएको हो ।

सीसीएमसी खारेजीसँगै प्रमुख कार्यकारी अधिकृत पूर्वरथी बालानन्द शर्मा पनि पदमुक्त भएका छन् भने सीसीएमसीसीको संयोजकमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने नियुक्त भएका छन् । यसअघि सीसीएमसीमा सुरक्षा निकायबाट विशिष्ट श्रेणीका अधिकृत खटिँदै आएकोमा हाल प्रथम श्रेणीका अधिकारीलाई खटाइएको हो ।

कोरोनाभाइरस संक्रमण न्यून हुँदै गएकाले सीसीएमसी खारेज गरेर नयाँ संरचना बनाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । मन्त्रिपरिषद्ले सीसीएमसीसीको कार्यविधिसमेत स्वीकृत गरिसकेको छ ।

गत ३१ भदौमा कोभिड-१९ सं‍कट व्यवस्थापन अध्यादेश निष्क्रिय भएको थियो । व्यवस्थापिकाको पहिलो बैठक बसेको ६० दिनभित्र अध्यादेश संसद्ले स्वीकृत नगरेमा स्वतः निष्क्रिय हुने प्रावधान छ । बैठक बसेको ६० दिनभित्र स्वीकृत नभएपछि अध्यादेश निष्क्रिय भएको हो ।

त्यसअघि संक्रामक रोग ऐन, २०२० अनुसार प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सीसीएमसी गठन भएको थियो । जुन प्रभावकारी नभएको भन्दै अध्यादेश ल्याएर बाहिरबाट सिइओ नियुक्ति गरी यससम्बन्धी संरचना हेरफेर गरिएको थियो ।

हाल संक्रामक रोग ऐनअनुसार नै फेरि प्रधानमन्त्री कार्यालयकै सचिवको नेतृत्वमा यससम्बन्धी संरचना बनाइएको छ । प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति भने कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *