सिक्किमका मुख्यमन्त्रीसँग भुवन र चाम्सको भेटवार्ता : फिल्म फेस्टिभल सफल बनाउन मागे सहयोग – Nepal Press

सिक्किमका मुख्यमन्त्रीसँग भुवन र चाम्सको भेटवार्ता : फिल्म फेस्टिभल सफल बनाउन मागे सहयोग

काठमाडौं । भारतको पूर्वोत्तर राज्य सिक्किमले आगामी मंसिर २४ गतेदेखि औपचारिकरुपमा फिल्म पर्यटन कार्यक्रमको थालनी गर्दैछ । उक्त अवसरमा पाँच दिने ग्लोबल फिल्म फेस्टिभलको समेत आयोजना हुँदैछ ।

फेस्टिभल आयोजना हुन एक महीनाभन्दा कम समय बाँकी रहँदा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले नेपाली कलाकारसँग भेटघाटलाई तीव्रता दिएका छन् ।

उनकै निम्तोमा सिक्किम पुगेका फिल्म निर्देशक मिलन चाम्स र निर्माता एवं अभिनेता भुवन केसीले शुक्रबार बेलुका मुख्यमन्त्रीलाई भेटेका छन् । भेटमा उनले नेपाल र सिक्किमबीच सांस्कृतिक निकटता भएकाले फेस्टिभललाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

भेटपछि नेपाल प्रेससँग कुरा गर्दै निर्माता केसी र निर्देशक चाम्सले ग्लोबल फिल्म फेस्टिभल सफल बनाउन मुख्यमन्त्रीले आफूहरुको सहयोग खोजेको बताए । ‘उहाँसँग फेस्टिभलकै बारेमा कुरा भयो र हामीले गर्न सक्ने सहयोगबारे भन्यौं’ निर्माता केसीले भने ।

फिल्म छायांकन गरेबापत सिक्किम राज्यले विदेशी फिल्मलाई दिने अनुदान र निकट भविष्यमा हुनसक्ने फिल्म छायांकनबारे पनि मुख्यमन्त्रीसँग कुरा भएको केसीले जनाए ।

फिल्म निर्देशक चाम्सले फेस्टिभल सफल बनाउन मुख्यमन्त्री गोलेले आफूहरुको सुझाव र सल्लाह मागेको बताए । ‘मुख्य कुरा हामी सांस्कृतिक र भौगोलिकरुपमा निकै निकट छौं’ चाम्सले भने, ‘दुई मुलुकको सम्बन्धलाई दुबै पक्षको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे छलफल भयो ।’

सिक्किमले यसवर्षको अन्त्यदेखि सुरु गर्न लागेको फिल्म पर्यटन कार्यक्रम अन्तर्गत त्यहाँ छायांकन हुने फिल्मलाई भारु १ करोड अनुदान दिने प्याकेज ल्याएको छ । जसअन्तर्गत ७५ प्रतिशत छायांकन सिक्किममै हुनुपर्ने र ६० प्रतिशत स्थानीय कास्ट एन्ड क्रिउ प्रयोग हुनुपर्ने प्रावधान तोकिएको छ ।

सिक्किमले सुरुआती चरणमा नेपाल र भुटानका फिल्मलाई लक्षित गर्दै यस्तो कार्यक्रम ल्याएको जनाएको छ । ‘सुरुमा हाम्रा छिमेकी फिल्म उद्योगबाट यो अभियान थालनी गर्दैछौं’ सिक्किम फिल्म प्रवद्र्धन बोर्डकी अध्यक्ष पूजा शर्माले भनिन्, ‘क्रमशः हामी विश्व फिल्महरुलाई सिक्किममा छायांकनको लागि बोलाउँदै जानेछौं ।’

भारत सरकारले यसवर्ष सिक्किमलाई उत्कृष्ट फिल्ममैत्री राज्यको रुपमा समेत पुरस्कृत गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *