पूजा र आकाशको लभस्टोरी ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा – Nepal Press

पूजा र आकाशको लभस्टोरी ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

काठमाडौं । बक्सअफिस चलायमान हुन थालेसँगै धमाधम नयाँ फिल्महरुले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति तय गरेको एक दिन नबित्दै अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट पनि घोषणा गरेका छन् ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको यो म्युजिकल लभस्टोरी फिल्म फागुन २७ गते (मार्च १)मा देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मले शुक्रबार रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेको छ ।

अघिल्लोपटक कोरोभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले दुईपटक फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड भैसकेको छ । सुदर्शन र पूजाले आफ्नो सहकार्यमा बनेको अर्को फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई माघ १९ गते प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् ।

सम्हालिन्छ कहिले मनको जारी पोस्टरमा यी तीन मुख्य पात्रलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । बलिउडका चर्चित गीतमा कभर संस्करण रिलिज गरेका गायक तोप्देनले यही फिल्मबाट अभिनयको इनिङ सुरु गर्दैछन् ।

बेलायत र नेपालमा छायांकन गरिएको फिल्मलाई दर्शकले रुचाउने विश्वास निर्देशक थापाले लिएका छन् । रोमान्टिक जनरमा फिल्म बनाउन खप्पिस सुदर्शनले फिल्म हेर्न आतुर दर्शकको मनोविज्ञानलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको बताए ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अमित बस्नेतले निर्माण गरेका हुन् । परी राना र अजितकुमार थापा सह–निर्माता छन् । सनिश खकुरेल र अंकित गौतम कार्यकारी निर्माता हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *