चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा – Nepal Press

चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

चितवन । चितवनमा पछिल्लो १० महिनामा १०१ जना एचआईभी संक्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका फोकल पर्सन तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म २ हजार २५ जनामा संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ७ हजार ८ सय ३५ जनामा परीक्षण गर्दा ५२ जना र समुदायस्तरमा गरिएको १ सय ५३ जनाको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएका छन् ।

नयाँ पहिचान भएका संक्रमितलाई निःशुल्क एआरटी औषधि दिइएको छ । अस्पतालको एआरटी क्लिनिकबाट १ हजार २९ जनाले नियमित एआरटी औषधि लिएका छन् । जसमध्ये ४ सय ९५ जना पुरुष, ४ सय ९० जना महिला र ४४ जना बालबालिका छन् । बसौलाका अनुसार कोभिड संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ४ सय २८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको थियो । १ सय ३३ जनालाई खाद्यान्न सहयोग गरिएको थियो ।

औषधि अभाव कायमै

एचआईभी संक्रमितले नियमित खानुपर्ने ३ प्रकारका औषधिको अभाव देखिएको छ । संक्रमित आमाबाट जन्मेका उच्च जोखिममा रहेका बालबालिकालाई ३ महिना खुवाइने जिडोभुडिन (सिरफ) औषधि ६ महिनादेखि छैन । एआरटी औषधि खाएको ८ हप्ता कम वा नियमित नखाएका, सुत्केरी अवस्थामा संक्रमण पहिचान भएकाबाट जन्मेका बालबालिकालाई संक्रमणबाट जोगाउन यो औषधि खुवाउने गरिन्छ ।

यो वर्ष संक्रमित आमाबाट जन्मेका १३ बालबालिकामध्ये ५ जना उच्चजोखिममा छन् । कम जोखिमका बालबालिकालाई ६ हप्ता खुवाउने नेभिरापिन औषधिको भने अभाव छैन । उच्च जोखिमका बालबालिकालाई यी दुबै औषधि खुवाउनुपर्छ । यस्तै संक्रमित व्यक्तिलाई अन्य रोगको संक्रमणबाट जोगाउन दिइने कोर्टिमोक्साजोल र क्षयरोग रोकथामका लागि खुवाइने आइपीटी औषधिको १० महिनादेखि अभाव छ । जसबाट करिब ३ सय संक्रमित बिरामी प्रभावित छन् ।बसौलाले भने, ‘यी औषधि सरकारले छिटै उपलब्ध गराउनुपर्छ । निःशुल्क पाइने यी औषधि तत्काल व्यवस्था हुनुपर्छ।’

संक्रमितमा यौन रोग बढ्यो

सन् २०११ देखि भरतपुर अस्पतालको एआरटी क्लिनिकमा सहयोग गर्दै आइरहेको एड्स हेल्थ केयर फाउन्डेसन (ए एचएफ नेपाल)ले संक्रमितमा यौन रोग बढ्न लागेको जनाएको छ । फाउन्डेसनका क्षेत्रीय प्रमुख कृष्णहरि सापकोटाले एआरटी नियमित सेवन गर्नेमा रोगप्रतिरोधात्मक क्षमता बढेपनि लापरबाहीका कारण यौन रोगहरु देखिएको बताए ।

उनका अनुसार १ सय २ जना संक्रमितमा गरिएको परीक्षणमा ९ जनामा यौन रोग पाइएको बताए । उनले भने, ‘असुरक्षित यौनसम्पर्क गर्दा यौन रोगहरु सरेको पाइयो । अझै जनचेतना फैलाउनुपर्छ । संक्रमित १० जनामा क्षयरोगको संक्रमण पनि देखिएको छ । एचआईभी संक्रमितले नियमित स्वास्थपरीक्षण गराउनुपर्छ । बेलैमा अन्य रोग पहिचान भएमा जोखिमबाट बच्न सकिन्छ ।’ करिब १ सय जनाले १६ वर्षदेखि नियमित रुपमा एआरटी औषधि खाँदै आएका छन् ।

संक्रमितलाई निःशुल्क क्यान्सर परीक्षण

भरतपुर अस्पतालले एचआईभी संक्रमितको निःशुल्क पाठेघर मुखको क्यान्सर परीक्षण सुरु गरेको छ । गत महिनादेखि सुरु भएको परीक्षणमा हालसम्म ९ जना महिलाले परीक्षण गरेका छन् । डा. बसौलाका अनुसार २१ वर्ष माथिका संक्रमित महिलाले स्क्रनिङ गर्न पाउनेछन् । वर्षमा कम्तिमा एकपटक संक्रमित महिलाले निःशुल्क स्क्रिनिङ गर्न पाउने बताए ।

संक्रमित बिमामा आकर्षित भएनन्

सरकारले एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ बिमाको नीति ल्याएपनि संक्रमितहरु बिमामा आकर्षित हुन सकेका छैनन् । भरतपुर अस्पतालका प्रमुख मेसु डा. कृष्णप्रसाद पौडेलले संक्रमितको बिमा अभियान चलाउनुपर्ने बताए । उनले भने, ‘सरकारले निःशुल्क बिमाको सुविधा दिएको छ, तर उहाँहरु बिमा गर्न मान्नुहुन्न । अन्य रोगको उपचारको खर्च अस्पतालले बेहोर्नुपरेको छ, अब बिमा अभियान चलाउनुपर्छ ।’ ६ सय ५० जनाले संक्रमितले बिमा गरेपनि नयाँ थपिएका संक्रमितले बिमा गर्न इच्छुक देखिएका छैनन् । स्वास्थ कार्यालय चितवनका प्रमुख दिपक तिवारीले एचआईभी संक्रमितको बिमालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *