इङ्ल्यान्डलाई पाखा लगाउँदै न्युजिल्यान्ड टी-२० विश्व कपको फाइनलमा
काठमाडौं । इङ्ल्यान्डलाई ५ विकेटको नतिजामा पराजित गर्दै न्युजिल्यान्ड आईसीसी टी-२० विश्व कप क्रिकेट फाइनलमा पुगेको छ ।
बुधबार राति यूएईमा भएको पहिलो सेमिफाइनलमा रोमाञ्चक जित निकाल्दै एकदिवसीय विश्व कप २०१९ को उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डसामु इङ्ल्यान्डले १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
दोस्रो हाफमा जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । न्युजिल्यान्डका लागि ओपनर डार्यल मिट्चेलले ७२ रनको शानदार अर्धशतकीय इनिङ खेले ।
आफ्नो इनिङमा ४७ बलको सामना गरेका मिट्चेलले ४ चौका र ४ छक्कासहित ७२ रन बनाए । न्युजिल्यान्डका लागि अन्तिम बलमा चौका प्रहार गर्दै उनले जोडदार सेलिब्रेसनसमेत गरे ।
न्युजिल्यान्डले भरपर्दा दुई ब्याट्सम्यान मार्टिन गप्टिललाई ४ र कप्तान केन विलियमसनलाई ५ रनमा गुमाएको थियो । त्यसपछि दबाबमा परेको न्युजिल्यान्डसामु इङ्ल्यान्ड हाबी बन्दै गएको थियो । तर, अलराउन्डर जिमी निशम क्रिजमा उत्रिएसँगै उनको आक्रामक अन्दाजले न्युजिल्यान्डलाई दलदलबाट निकालेर जिततर्फ डोर्याएको थियो ।
क्रिजमा उत्रिएसँगै ठूला सटको वर्षा गरेका निशमले १० बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडेका थिए । यद्यपि, ११औं बलमा क्याच आउट भए पनि टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्बाह गरिसकेका थिए । उनले पहिलो बलमै छक्का प्रहार गर्दै ब्याटिङको सुरुआत गरेका थिए । र, सोही समयदेखि खेल न्युजिल्यान्डको पक्षमा ढल्किन थालेको थियो ।
निशम अघि विकेटकिपर ब्याट्सम्यान डेभोन कोनवेले ३८ बलमा ५ चौका र १ छक्कासहित ४६ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए ।
इङ्ल्यान्डका लागि क्रिस वोक्स र लियम लिभिङस्टोनले २/२ तथा आदिल रशिदले १ विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको इङ्ल्यान्डका लागि मोइन अलीले ३७ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका छन् ।
यस्तै, डेभिड मलानले ३० बलमा ४ चौका र १ छक्कासहित ४१ रन तथा लिभिङस्टोनले १७, ओपनर जोस बटलरले २१ रनको योगदान गरे ।
जितसँगै पहिलो पटक टी-२० को फाइनलमा पुगेको न्युजिल्यान्डले भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । भोलि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भिड्ने छन् ।