सौर्य एयरलाइन्सले सुरु गर्‍यो भैरहवा-विराटनगर उडान – Nepal Press

सौर्य एयरलाइन्सले सुरु गर्‍यो भैरहवा-विराटनगर उडान

रुपन्देही । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्स प्रालिले भैरहवा-विराटनगर-भैरहवा सिधा उडान सुरु गरेको छ ।
आठ वर्षदेखि सेवा दिँदै आएको एयरलाइन्सले ५० सिट क्षमताको जेट विमानबाट लुम्बिनी र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान सुरु गरेको हो ।
खासगरी औद्योगिक क्षेत्र विराटनगर र रुपन्देहीलाई जोड्ने गरी उडान सुरु गरिएको कम्पनीले जनाएको छ ।

यसअघि भैरहवा-विराटनगर कुनै पनि एयरलाइन्सले सिधा उडान गरेका छैनन् । विराटनगरबाट सिधै विश्व पर्यटन केन्द्र लुम्बिनी उडान सुरुपछि आफूहरु खुसी रहेको परीक्षण यात्रामा सहभागी भरत पोखरेलले बताए ।

भैरहवा र बिराटनगर बीचको यो उडानले धेरै महत्व राख्ने, आकाश मार्गबाट ४० मिनेटमै बिराटनगर-भैरहवा यात्रा गर्न सकिने अन्तरप्रदेश हवाई उडानको यो सेवाले लुम्बिनी र पाथिभरालाई जोड्न सक्ने विश्वास गरिएकाे छ ।

यो उडानले सिक्किम दार्जिलिङबाट समेत लुम्बिनीमा पर्यटक भित्र्याउन सकिने, लुम्बिनी क्षेत्रका जनताका आर्थिक सामाजिक सांस्कृतिक तथा व्यवसायिक जीवनमा समेत महत्वपूर्ण परिवर्तन ल्याउनसक्ने पोखरेलले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनी र प्रदेश १ का पर्यटकीय क्षेत्रलाई जोड्न र सहज यात्राका लागि सेवा सुरु गरिएको सौर्य एयरलाइन्स भैरहवा स्टेशनका प्रबन्धक जितेन्द्र यादवले बताए ।

सौर्यको भैरहवा–विराटनगर उडान थपिएसँगै अब दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने दाबी गरेको छ ।

भैरहवा–विराटनगर जहाजलाई गन्तव्यमा पुग्न ४० मिनेट लाग्ने र यसको एकतर्फी भाडादर ६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । चाँडै नै नेपालगन्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *