‘कमेडी क्लब’ बन्द भएपछि जितु नेपालको प्रेसमिट: यी हुन् उनले औंल्याएका पाँच कारण – Nepal Press

‘कमेडी क्लब’ बन्द भएपछि जितु नेपालको प्रेसमिट: यी हुन् उनले औंल्याएका पाँच कारण

काठमाडौं । अन्ततः जितु नेपालले संचालन गर्ने टेलिभिजन सो ‘मुन्द्रेको कमेडी क्लब’ दुईवर्षपछि बन्द भएको छ । यसबारे जानकारी दिन जितु र करिश्मा मानन्धरले राजधानीको शंखमूलस्थित बार्दली रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

आफू मीठो अनुभवसहित कार्यक्रमबाट बिदा हुन लागेको उनले बताए । उनले यसो भनिरहँदा जितु र उनको छेवैमा रहेकी नायिका करिश्मा मानन्धरको अनुहार मलिन देखिन्थ्यो । सोमबार मुन्द्रेको कमेडी क्लबको अन्तिम सो प्रसारण भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जितुले सो बन्द हुनुका केही कारणबारे प्रकाश पार्ने प्रयास गरे । सो बन्द हुनुको मुख्य कारणमा उनले फुलन्देकी आमाको भूमिकामा देखिएका उमेश राईलाई दोषरोपण गरे ।

उनले भने, ‘फुलन्देको आमाले उही चरित्रमा डान्स प्रतियोगिताको होस्ट गर्न लागेको समाचार आएपछि पहिला त पत्याइँन । तर, फोन गरेर के हो भाइ यस्तो समाचार छ त भन्दा हो दाइ भन्यो । अनि यस्तो गर्न कहाँ भयो त भाइ, एउटै चरित्रमा दुईतिर कार्यक्रम गर्न त भएन नि । अनि मलाई चाहिँ धोका दिन मिल्थ्यो त ?’

जितुले कार्यक्रम बन्द हुनुको पछाडि विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङको दोहोरो चलखेल पनि कारण रहेको बताए । आफूलाई जानकारी नदिइ आफ्नो टीमका सदस्यलाई होस्ट गराएको भन्दै उनले दुःख व्यक्त गरे ।

सुरुदेखि नै कार्यक्रमलाई लक्षित गर्दै नकारात्मक कमेन्ट गरेको आरोप समेत उनले लगाए । सुरुआतमा भारतीय कमेडियन कपिल शर्माको नक्कल गरेको र पछिल्लोपटक दीपाश्री निरौला महानायक विवादमा मुछिएपछि धेरै नेगेटिभ कमेन्ट आएको उनले बताए ।

अर्कोतर्फ, कार्यक्रममा सहभागी हुने अतिथिको कमीलाई पनि जितुले कारणको रुपमा देखाए । एउटै सेलेव्रिटी धेरैपटक दोहोरिएको बताउँदै उनले अर्कोतर्फ स्थायी सुटिङ सेटको अभाव पनि एउटा प्रमुख कारण रहेको बताएका थिए ।

उमेश राईले भने : यसबारे टिप्पणी गर्न चाहन्न

उक्त सोमा फुलन्देकी आमाको भूमिकामा देखिएका उमेश राईले यो विवादमा आफू बोल्न नचाहेको नेपाल प्रेससँग बताए । ‘समय आएपछि बोलौंला तर, अहिलेलाई म केही बोल्न चाहन्न’ उनले भने, ‘म पूर्णरुपमा गलत भनेर पनि भन्दिँन तर, यसबारे पछि मात्र बोल्छु ।’

आफूले होस्ट गर्ने डान्स प्रतियोगिता बिहीबारदेखि कान्तिपुर टिभीमा प्रसारण हुन लागेको जानकारी पनि उनले दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *