फिल्म हलमा फर्किए दर्शक, ‘सूर्यवंशी’लाई पहिलो दिनमै ७० प्रतिशत अकुपेन्सी (तस्बिरहरु) – Nepal Press

फिल्म हलमा फर्किए दर्शक, ‘सूर्यवंशी’लाई पहिलो दिनमै ७० प्रतिशत अकुपेन्सी (तस्बिरहरु)

काठमाडौंं । अक्षय कुमार र कट्रिना क्याफ स्टारर फिल्म ‘सूर्यवंशी’ले शुक्रबार नेपाली बक्सअफिसमा उत्साहजनक ओपनिङ गरेको छ । मुलुकका सय हलमा रिलिज भएको फिल्मको पहिलो दिनको अकुपेन्सी ६० देखि ८० प्रतिशत छ ।

सामाजिक दूरी कायम गर्नुपर्ने प्रावधानका कारण अहिले ५० प्रतिशत अकुपेन्सीमा फिल्म खुलाउन प्रशासनहरुले अनुमति दिएका छन् । वितरक कम्पनी व्यांकटेस इन्टरटेमेन्टले पहिलो दिनको ओपनिङ उत्साहजनक भएको जनाएको छ ।

पचास प्रतिशत अकुपेन्सीलाई हाउसफूल मान्ने हो भने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौं र पोखराका हलहरु लगभग हाउसफूल (शतप्रतिशत अकुपेन्सी) छन् । क्यूएफएक्सले मुलुकका आफ्ना फ्रेन्चाइजमा सूर्यवंशीलाई ५८ सोज दिएको छ ।

क्यूएफएक्सले सूर्यवंशी रिलिजसँगै दमौलीमा एपेक्स मल्टिप्लेक्स संचालनमा ल्याएको छ । सीइओ रोशन अडिगाले उक्त हल शुभारम्भ गरे । ‘हाम्रो हलहरुमा सूर्यवंशीको उत्साहजनक ओपनिङ छ’ नेपाल प्रेससँग उनले भने, ‘कन्टेन्ट राम्रो पनि हुनु र तिहारको बिदा पनि भएका दर्शकहरु आउनुभएको छ ।’

वितरक कम्पनी ब्यांकटेसका निर्देशक मनोज राठीले देशभरबाट उत्साहजनक ओपनिङ भएको बताए । ‘अब हामी दर्शकको समीक्षा कस्तो आउँछ भन्ने पर्खाइमा छौं’ उनले भने, ‘कम्तीमा दर्शकलाई मनोरञ्जन दिने र हलसम्म फर्काउने हाम्रो उद्देश्य हो ।’

कोरोना महामारीको कारण पाँच महीनापछि खुलेका हलहरुमा दर्शक फर्काउन निर्माताहरु स्टार कास्टसहित ठूलो ब्यानरको बलिउड फिल्मको पर्खाइमा थिए । फिल्म उद्योगलाई चलायमान बनाउन पनि सूर्यवंशीमा सबैको नजर र अपेक्षा थियो । सूर्यवंशी हेरेका नेपाली दर्शकले यसलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

रोहित सेठ्ठी निर्देशित सूर्यवंशीमा अक्षय, कट्रिना, अजय देवगण, रणवीर सिंह, ज्याकी श्रोफ, गुल्सन ग्रोवरको मुख्य भूमिका छ । भारत-पाकिस्तानबीचको सीमापार आतंकवादको मुद्दा र त्यसलाई रोक्न भारतीय प्रहरीको भूमिका यसमा चित्रण छ ।

शुक्रबार हलिउड फिल्म ‘साङ ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्स’ रिलिज भएको छ ।

तस्वीरहरु नेपाल प्रेस :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *