मिस युनिभर्स नेपालका सुन्दरीले दाँतको परीक्षण गराउँदै भने : हामीले मात्र हैन, सबैले दाँतको स्याहार गरौं – Nepal Press

मिस युनिभर्स नेपालका सुन्दरीले दाँतको परीक्षण गराउँदै भने : हामीले मात्र हैन, सबैले दाँतको स्याहार गरौं

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२१ का विजेता र सह-विजेताले राजधानीको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा पुगी आफ्नो दाँतको परीक्षण तथा उपचार गराएका छन् ।

विजेता सुजिता बस्नेत र सहविजेता नीनाकान्त मण्डलले केडीसीमा गई मुख स्वास्थ्य दन्त परीक्षण तथा उपचार गराएका हुन् । डिसेम्बरमा इजरायलमा मिस युनिभर्स वर्ल्ड २०२१ प्रतियोगितामा जानुअघि उनीहरुले स्वास्थ्यको तयारीस्वरुप यस्तो परीक्षण गरेका हुन् ।

केडीसीमा सुन्दरीद्धयलाई अध्यक्ष बुद्धिमान श्रेष्ठले स्वागत गरेका थिए । विद्यार्थी, फ्याकल्टी र स्टाफ सहभागी भएको उक्त अन्तरक्रिया कार्यक्रममा बस्नेत र मण्डलले मुख तथा दन्त स्वास्थ्यको बारेमा समेत विचार राखेका थिए ।

मुख तथा दाँतको स्याहारमा लाग्न उनीहरुले आग्रह गरे । मिस नेपाल अमेरिका समेत रहिसकेकी बस्नेतले मुख तथा दन्त स्वास्थ्यको महत्व सुन्दरी प्रतियोगिताका लागि मात्रै नभएर सबैलाई आवश्यक रहेको बताइन् । हेल्दी स्माइलका लागि ओरल हेल्थ डेन्टिस्ट्रीको बारेमा समेत उनले कुरा गरिन् ।

कलेज प्रिन्सिपल रविन्द्रमान श्रेष्ठले मुख तथा दाँत स्वास्थ्य र केडीसीले यस क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै बस्नेत र मण्डललाई सफलताको शुभकामना दिए । केडीसी अध्यक्ष श्रेष्ठले टाइटल विजेता सुन्दरीद्धयलाई मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरी आवश्यक पर्ने उपचार प्रतिस्पर्धामा भाग लिनु जानुअघि गर्ने गरी मिलाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *