पूर्वमन्त्रीहरूसँग खेलकुदमन्त्रीको परामर्श, खेल पूर्वाधारको विकासमा जोड – Nepal Press

पूर्वमन्त्रीहरूसँग खेलकुदमन्त्रीको परामर्श, खेल पूर्वाधारको विकासमा जोड

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पूर्वमन्त्रीहरूसँग छलफल गरेका छन् । मन्त्रालयको भावी योजनाबारे उनले यसअघिका खेलकुदमन्त्रीहरूसँग परामर्श लिएका हुन् ।

उक्त कार्यक्रममा सहभागी पुर्वमन्त्रीहरूले मन्त्रालयबाट राम्रो संस्कारको सुरुआत भएको बताएका छन् । पूर्व सहायकमन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवालक्षित कार्यक्रमहरुमा विशेष जोड दिनुपर्ने बताइन् ।

पूर्वराज्यमन्त्री गोपी अछामीले जनशक्ति, पूर्वाधार र बजेटको स्थिति हेर्दा खेलकुद मन्त्रालय सधैँ उत्पिडनमा परेको आभाष हुने बताए । अछामीले मन्त्रालयलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिए । साथै खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरूलाई निरुत्साहित गर्दै लक्षित वर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिहरूलाई व्यापकता दिन सुझाव दिए ।

पुर्वमन्त्री जगतबहादुर विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको ‘खेलकुद विकास ऐन’ कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गरे । ७ वटै प्रदेशमा निर्माण गर्ने भनिएका अत्याधुनिक प्रादेशिक रंगशाला निर्माण कार्यलाई पूर्णता दिन सके स्थानीयस्तरबाट खेलाडी उत्पादन हुने देखि खेल पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री गहतराज (अथक) ले विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनीका आफू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव कमलप्रसाद पोखरेलले मन्त्रालयको जिम्मेवारी र हालसम्म भए गरेका गतिविधिको जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *