‘मन बुढो भएन’ भन्दै राजेश हमालले गाए पहिलो गीत – Nepal Press

‘मन बुढो भएन’ भन्दै राजेश हमालले गाए पहिलो गीत

काठमाडौं । प्रख्यात अभिनेता राजेश हमाल अब गायक बनेका छन् । उनले पहिलोपटक दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन् ।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘हमाल दाइलाई आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउन इच्छा रहेछ,’ गीतकार तथा संगीतकार दीपक शर्माले भने, ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत हमाल दाइलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो ।’

गीत मन पराएपछि हमालले केही समय ‘प्राक्टिस’ गर्ने चाहना राखेका थिए । दाइसँग दुई पटकको बसाइमा राम्रो ‘प्राक्टिस’ भयो,’ संगीतकार शर्माले भने, ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसनल गायकले झैँ सुरताल पकड्नु भयो । त्यसपछि गीत रेकर्ड गर्‍यौँ ।’

हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशक देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए ।

पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शकस्रोताको साथ पाउने विश्वास संगीतकार शर्माको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *