टी-२० विश्व कपमा चम्किरहेका पाकिस्तानी अफ्रिदी को हुन्? – Nepal Press

टी-२० विश्व कपमा चम्किरहेका पाकिस्तानी अफ्रिदी को हुन्?

काठमाडौं । सन् २०२१ को टी-२० विश्व कप यूएई र ओमानमा जारी छ । विश्वका चर्चित क्रिकेटर सहभागी छन् । हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ । त्यसैमध्ये चर्चामा आइरहेको एक नाम हो, शाहीन शाह अफ्रिदी ।

अफ्रिदी अहिले चर्चाको शिखरमा छन् । चर्चा नहोस् पनि कसरी टी-२० विश्वकपमा पहिलोपटक पाकिस्तानले भारतलाई हरायो । र, भारतमाथि रवाफिलो जित निकाल्न तिनै अफ्रिदीले महत्वपूर्ण भूमिका खेले ।

युवा बलर अफ्रिदीले पाकिस्तानमाथि भारतको दबदबा अन्त्य मात्रै गरेनन् । भारतलाई लज्जास्पद हारको स्वाद पनि चखाए । पावरप्लेमा पहिलोपटक तीन ओभर बलिङ गरेका शाहीनले पहिलो दुई ओभरमा दुई विकेट लिएर पाकिस्तानलाई उत्कृष्ट सुरुवात गराए ।

रोहित शर्मालाई शून्य र केएल राहुललाई प्याभिलियन पठाएपछि उनले कप्तान विराट कोहलीको समेत विकेट लिए । शाहीनले चार ओभरमा ३१ रन दिए । भारतीय ब्याटिङले अन्तिमसम्म रिकभर गर्ने मौका पाएन र शाहीनको अगाडि १५२ रन मात्रै बनाउन सके ।

त्यस्तै न्युजिल्यान्डसँगको दोस्रो खेलमा पनि उनले चार ओभर बलिङ गर्दै एक मेडनसहित २१ रन खर्चिएर एक विकेट हात पारे ।

को हुन् शाहीन शाह अफ्रिदी ?

२१ वर्षीय अफ्रिदी पाकिस्तान क्रिकेट टोलीका स्टार बलरहरूमध्ये एक हुन् । उनले पाकिस्तानका लागि तीनवटै प्रारूपको क्रिकेटमा नियमित सहभागिता जनाइरहेका छन् । उनी अफगानिस्तानको सिमानामा रहेको पाकिस्तानको खैर जिल्लामा हुर्किएका हुन् ।

सात भाइहरूमध्ये अफ्रिदी सबैभन्दा कान्छा हुन् । उनका जेठा भाइ रियाज अफ्रिदी हुन् । रियाज र शाहीनको उमेर अन्तर १५ वर्षको छ । शाहीनलाई क्रिकेटमा ल्याउने श्रेय उनका दाइ रियाज अफ्रिदीलाई जान्छ । रियाजले पनि पाकिस्तानबाट क्रिकेट खेलिसकेका छन् ।

उनले सन् २००४ मा एक मात्र टेष्ट खेल खेलेका थिए । शाहीनले आफ्नो क्रिकेट करियर भने लान्डी कोटलको टाटारा मैदानबाट सुरू गरेका हुन् । जुन नजिकैको टाटार पहाडहरूको नाममा राखिएको हो । शाहीन चार वर्षको उमेरदेखि नै क्रिकेट खेल्दै आएका छन् ।

रियाजले २०१५ मा ‘एफटीए’ अन्डर-१६ ट्रायलमा शाहीनलाई हार्ड-बल क्रिकेटमा परिचय गराउँदासम्म शाहीनले टेनिस-बल क्रिकेट मात्र खेलेका थिए । यस स्तरको सफलताले शाहीन नोभेम्बर २०१५ मा अष्ट्रेलिया भ्रमणको लागि छनोट भएका थिए ।

जहाँ उनले एकदिवसीय र ट्वान्टी-२० शृंखलामा २-१ को जितमा चार विकेट लिएका थिए । त्यसपछि उनले विभिन्न उमेर समूहको क्रिकेट खेल्ने क्रम जारी राखे । सन् २०१८ मा उनी अन्डर-१९ विश्वकपका लागि पाकिस्तानी टोलीमा छनोट भएपछि उनले अन्तर्राष्ट्रिय मान्यता पाएका थिए । जहाँ उनले ५ खेलमा १२ विकेट लिए ।

सोही वर्षको अन्त्यमा उनले पाकिस्तानको लागि डेब्यु गर्ने मौका पाए र उनी २१औं शताब्दीमा जन्मेका पहिलो क्रिकेटर बने जसले पाकिस्तान टोलीमा खेल्ने मौका पाए । शाहीनले ३ अप्रिल २०१८ मा वेस्टइण्डिजविरुद्ध आफ्नो टी-२० डेब्यू गरका हुन् ।

सोही वर्ष सम्पन्न एसिया कप एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने मौका पनि पाए । सोही वर्षको अन्त्यमा न्युजिल्यान्डविरुद्धको टेष्ट सिरिजमा उनले टेस्टमा डेब्यू गर्ने मौका पाए । ६ फिट ६ इन्च हाइट भएका अफ्रिदीले हालसम्म १९ टेस्ट खेलमा ७६ विकेट, २८ वानडेमा ६३ विकेट र ३२ टी-२० मा ३६ विकेट लिएका छन् ।

शाहीनको पूर्व पाकिस्तानी क्रिकेटर र कप्तान शाहिद अफ्रिदीसँग पनि विशेष सम्बन्ध छ । शाहीन चाँडै शाहिद अफ्रिदीको ज्वाइँ बन्न लागेका छन् । यसै वर्षको मार्चमा शाहिदले आफ्नी छोरीको शाहीनसँगको विवाह हुने पुष्टि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर