लुम्बिनीका ४ वटै उपमहानगरमा एमालेको युवा नेतृत्व – Nepal Press

लुम्बिनीका ४ वटै उपमहानगरमा एमालेको युवा नेतृत्व

रुपन्देही । नेकपा एमालेको मंगलबार सम्पन्न पालिका अधिवेशनबाट लुम्बिनी प्रदेशमा रहेका ४ वटा उपमहानगरपालिकाको नेतृत्वमा युवाहरू आएका छन् ।

राजनीतिमा युवा पुस्ताको प्रवेशको बहस चलिरहेका बेला प्रदेशका महत्वपूर्ण ४ वटै उपमहानगरपालिकामा युवाहरूले नेतृत्व पाएका छन् भने अधिकांश अन्य पालिकामा पनि युवाको वर्चश्व रहेको छ ।

बुटवल उपमहानगरपालिकाको नगर अध्यक्षमा किसन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । अनेरास्ववियुबाट विद्यार्थी राजनीति गरेका ३८ वर्षीय उनी रुपन्देही जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । एमालेको बलियो क्षेत्र मानिएको रुपन्देहीको बुटवलमा आधा दर्जन अन्य आकांक्षीका बीच उनी सर्वसम्मत नेतृत्वमा आएका हुन् ।

तुल्सीपुर उपमहानगरपालिकाको अध्यक्षमा ३४ वर्षका माधव वली निर्वाचित भएका छन् । यो भन्दा अघि सचिव थिए । उनी उपमहानगरको कान्छो वडाअध्यक्षका रुपमा जनप्रतिनिधि बनेका थिए । २१ वर्षबाट राजनीति सुरू गरेका वली तुल्सीपुर उपमहानगरपालिकाको १८ नं वडाको वडाध्यक्ष हुन् । राजनीतिशास्त्रमा एमए गरेका वली स्नातक तहमा अंग्रेजी पढेका थिए । आम्दानीको स्रोत बुवा र भाइको सामान्य व्यापार भएको र परिवारको पूरा साथ रहेको उनको भनाइ छ ।

यसैगरी घोराही उपमहानगरपालिकाको अध्यक्षमा भुवन चौधरी निर्वाचित भएका छन् । जेएनयुबाट अध्ययन गरेका चौधरीले एमफील गरेका छन् । थारुबाट राम्रो अध्ययन गरेका ४० वर्षका चौधरी त्यहाँको थारु कल्याणकारी समाजको अध्यक्ष हुन् । उनी पुस ५ गतेपछि घोराहीमा एमालेको जिम्मेवारीमा रहेका थिए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा दत्तप्रसाद आचार्य निर्वाचित भएका छन् । उनी ४५ वर्षका हुन् । नेपालगन्ज उपमहानगर नबन्दै उनी अध्यक्ष बनेका थिए भने उपमहानगर र नेकपाको समय सचिवको जिम्मेवारीमा काम गरेका थिए । जुम्लाबाट नेपालगन्ज आएका आचार्य व्यवसायी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर