डलरको भाउ ६ महिनायताकै उच्च, नेपाली अर्थतन्त्रमा कस्तो पर्ला असर ? – Nepal Press

डलरको भाउ ६ महिनायताकै उच्च, नेपाली अर्थतन्त्रमा कस्तो पर्ला असर ?

काठमाडौं । अमेरिकी डलर ६ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । गत असारमा १२०.३२ कायम भएको डलरको मूल्य घटेर ११६.२१ पुगेको थियो ।

पछिल्लो दुई सातायता डलरको मूल्य निरन्तर बढेको छ । आज डलरको मूल्य १२०.२७ कायम भएको छ । विश्व अर्थतन्त्रमा ऊर्जाको मूल्य निरन्तररुपमा बढ्न थालेपछि डलरको मूल्य बढेको बताइन्छ । यसैगरी कोरोना महामारीका कारण शिथिल भएको अमेरिकी अर्थतन्त्र चालायमान हुन थालेको तथा रोजगारी सृजना भइरहेको विष्लेषणका कारण डलरको मूल्य बढेको जानकारहरू बताउँछन् ।

डलरको मूल्यवृद्धिको कारण भारतीय मुद्रा भने कमजोर भएको छ । भारतसँग नेपालको स्थिर विनिमय दर प्रणाली कायम भएकाले डलर तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपाली रूपैयाँ अवमुल्यन भएको छ । भारतसँग भारु १ बराबर नेरु १.६० हुने गरी स्थिर विनिमय प्रणाली कायम गरिएको छ ।

नेपालको अर्थतन्त्रमा कस्तो असर गर्ला ?

डलरको मूल्य बढ्दा निर्यातकर्ता देशलाई फाइदा र आयात गर्ने देशलाई घाटा हुने गरेको छ । नेपालको अर्थतन्त्र रेमिटान्स र आयातमा निर्भर छ । रेमिटान्सको तुलनामा नेपालको आयात झन्डै २ गुणा बढी रहेकाले डलरको मूल्य घट्दा नेपाललाई बढी फाइदा हुने बताइन्छ । डलरको मूल्य बढ्दा कम वस्तु तथा सेवा आयात हुने भएकाले यसले मूल्यवृद्धि हुनसक्छ । भारतबाट आयात हुने पेट्रोलिय पदार्थ, खाद्यान्न, निमार्ण सामाग्री र चीनबाट आयात हुने लत्ताकपडा र ग्याजेटहरुको मूल्य बढ्ने देखिन्छ । जसका कारण विदेशी मुद्राको मुद्राको सञ्चितिमा थप दबाब पार्न सक्दछ ।

यसैगरी डलर सटही गरी विदेश पढ्न जाने विद्यार्थी, श्रमिक तथा पर्यटकले डलर सटहीका लागि बढी नेपाली रूपैयाँ खर्चिनुपर्ने हुन्छ । यसले सरकारको बजेट प्रणालीमा असर पार्न सक्दछ । विदशी साँवाव्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थाको खर्च अनुमाति बजेटको तुलनामा बढ्न सक्दछ । सरकारले विदेशी ऋणको साँवा ब्याज भुक्तानीका लागि थप अतिरिक्त रकम तिर्नुपर्ने तथा बजेटमा अनुमान गरिएको वैदेशिक ऋणको लागत समेत महंगो पर्न जान्छ । डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा डलरमा सम्झौता भएका र हेजिङ फण्ड मार्फत सम्झौता नभएका आयोजनाहरुको लागत बढ्छ ।

भारतबाट आयात हुने पेट्रोलियम पदार्थको महंगो हुँदा आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने परिस्थिति निर्माण हुनसक्छ । विद्युत प्राधिकरणले भारतबाट खरिद गरिरहेको विद्युतको मूल्य बढ्ने हुँदा प्राधिकरणको मुनाफा घट्न सक्छ ।

डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा रेमिटान्स बढी भित्रिने देखिन्छ । साउदी अरबिया, कतार, ओमन, मेलेसिया, संयुक्त अरब इमिरेट्सलगायतका मुलुक तथा यूरोप, अमेरिकाबाट प्राप्त हुने रेमिटान्समा यसले वृद्धि गराउँछ ।

गत साउनमा डलरको मूल्य कम हुँदा विप्रेषण करिब १८ प्रतिशतले घटेको थियो । निर्यात गरी डलरमार्फत भुक्तानी प्राप्त गर्ने उद्योगी व्यवसायीलाई भने यसले फाइदा पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *