फिल्म छायांकन गर्न रुसी निर्देशक र नायिका अन्तरीक्षतर्फ प्रस्थान, स्पेसमा १२ दिन सुटिङ हुने – Nepal Press

फिल्म छायांकन गर्न रुसी निर्देशक र नायिका अन्तरीक्षतर्फ प्रस्थान, स्पेसमा १२ दिन सुटिङ हुने

मस्को । अन्तरीक्षको कथामा ग्राभिटी, स्टोअवे, इन्टरस्टेलरजस्ता चर्चित फिल्म बनेका छन् । तर, अहिलेसम्म कुनैपनि फिल्म अन्तरीक्षमा छायांकन भएका छैनन् ।

तर, हलिउड अभिनेता टम क्रुजलाई उछिन्दै रुसी निर्देशक क्लिम सिपे पहिलोपटक अन्तरीक्षमा छायांकन गर्न जाँदैछन् । निर्देशक सिपेंले आफ्नो आगामी फिल्म च्यालेन्जलाई अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा छायांकन गर्दैछन् ।

नासाले यो जानकारी सामाजिक संजालमा पोस्ट गरेको छ । अक्टोबर ५ तारिखमा रुसी निर्देशक सिपेसहितको क्रिउ स्पेस स्टेसनतर्फ प्रस्थान गर्ने उल्लेख गरेको छ ।

योसँगै रुस अन्तरीक्षमा फिल्म छायांकन गर्ने विश्वकै पहिलो मुलुक बन्नेछ । नासाले आफ्नो पोस्टमा रुसी अभिनेत्री यूलिया पेरसिल्ड, निर्देशक सिपेको र अन्तरीक्ष यात्री एंटोन स्काप्लेरोवको लन्चिङ समयबारे पनि जानकारी दिएको छ ।

नासाका अनुसार यूलिया पेरेसिल्ड र क्लिम सिपेकोले अन्तरीक्षयात्री एन्टोन स्काप्लेरोवसँग ५ अक्टोबरमा अन्तरीक्षतर्फ उडान भरेका छन् । नेपाली समयअनुसार उनीहरु आज अपरान्ह २ बजेर ४० मिनेटमा उनीहरु अन्तरीक्षतर्फ प्रस्थान गरेका छन् ।

रुसी अन्तरीक्ष एजेन्सी रोस्कोस्मोसद्वारा चालक दलको सोयुज एमएस-१९ अन्तरीक्ष यानबाट उनीहरुलाई स्पेस स्टेसनतर्फ पठाइएको थियो । च्यालेन्ज फिल्म टोलीले स्पेसमा १२ दिन बिताउनेछ भने उनीहरुलाई अन्तरीक्ष तालिम पनि दिइएको छ ।

स्पेसमा यो टोलीले ३५ देखि ४० मिनेटसम्म फिल्म छायांकन गर्नेछ । फिल्मले एक महिला चिकित्सकको कथा भन्छ जसले अन्तरीक्ष यात्रलाई बचाउन त्यसतर्फको उडान भर्छिन् ।

अमेरिकी फिल्म अभिनेता एवं निर्माता टम क्रुजले पनि अन्तरीक्षमा फिल्म छायांकन गर्ने तयारी गरिरहेका छन् । तरपनि क्रुज र नासाले अहिलेसम्म यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *