अस्कर अवार्डद्वारा नेपाली फिल्मलाई आवेदन खुला, अनलाइन रिलिज भएका फिल्मले पनि भाग लिन पाउने – Nepal Press

अस्कर अवार्डद्वारा नेपाली फिल्मलाई आवेदन खुला, अनलाइन रिलिज भएका फिल्मले पनि भाग लिन पाउने

काठमाडौं । अस्कर अवार्डको ९४औं संस्करणका लागि नेपालस्थित अस्कर कमिटीले अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आवेदन खुलाएको छ । समितिले सोमबार सूचना जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १९ गतेदेखि कात्तिक ४ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२२ मार्च २७ तारिखका दिनमा अमेरिकाको लस्एन्जेल्सस्थित डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्डस् ‘द अस्कर’ प्रदान गरिने जनाएको छ ।

प्रत्येक वर्ष फेब्रुअरीमा हुँदै आएको अस्कर अवार्ड कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि अघिल्लो साल केही नियममा पनि परिवर्तन गरेको थियो जुन यो साल पनि निरन्तर रहेका छन् ।

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, अघिल्लो वर्ष झैं यसपटक पनि महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त फिल्म हलबाट रिलिज रोकिएको पत्र बुझाउनुपर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

कोरोनाको दोस्रो लहरले बन्द रहेका फिल्म हलहरु आगामी घटस्थापनादेखि खुल्ने भएपनि तत्कालै नेपाली फिल्महरु रिलिज हुने सम्भावना कम छ । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *