प्रचण्ड भन्छन् : राजनीतिमा नलागेको भए कलाकार हुने थिएँ ! – Nepal Press

प्रचण्ड भन्छन् : राजनीतिमा नलागेको भए कलाकार हुने थिएँ !

काठमाडौं, १५ असोज । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा नलागेको भए आफू पनि कलाकार बन्ने बताएका छन् । आज राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक कार्यक्रम निरस हुने र सांगीतिक कार्यक्रम रसिलो हुने बताए ।

संगीत भनेपछि आफू पनि लठ्ठ हुने गरेको बताउँदै प्रचण्डले भने, ‘सानोमा गीत, संगीत र नाच्नेतिर आफूलाई लैजाने मैले सोचेको थिएँ । सायद, म राजनीतिमा नभएको म पनि कलाकार नै हुन्थें होला । कला, संगीत, खेल र पत्रकारिता क्षेत्र भनेको राष्ट्रको प्रतिष्ठा बनाउने देशलाई समुन्नत बनाउने विद्या हो । म पनि यस्तै भएको भए कस्तो राम्रो हुन्थ्यो होलाजस्तो लाग्छ । तपाईँहरु सम्मानित हुँदै गर्दा अलि–अलि मलाई पनि मनमा म पनि सम्मानित हुन पाएको भए हुन्थ्योजस्तो लागेको छ ।’

दाहालले राजनीतिक कार्यक्रम निरस हुने र यस्तो सांगितिक कार्यक्रम भने राम्रो र रसिलो हुने पनि सुनाए । उनले भने ,‘राजनीतिक कार्यक्रम, त्यहाँ रस हुँदैन् । आजकाल त गालीगलौज नै हुन थालेको छ । तर आजको जस्तो कार्यक्रम रसिलो, भावुक हुन पाउने, यसमा सहभागी हुन पाउँदा आज म रिल्याक्स भएको छु ।’

प्रचण्डले सो अवसरमा पत्रकार ऋषि धमलालाई राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड–२०७८ बाट सम्मानित गरे । धमलासँगै बरिष्ठ लोकगायक जयनन्द लामा र कलाकार कृष्ण कँडेललाई पनि उनले सम्मान प्रदान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *