खाडी मुलक जाने नेपालीले २५० डलर मात्रै बोके पुग्ने – Nepal Press

खाडी मुलक जाने नेपालीले २५० डलर मात्रै बोके पुग्ने

काठमाडौं । अध्यागमन विभागले  खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटाएको छ । सरकारको मन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा घुम्न विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो ।

विभागले संशोधित अध्यागमन कार्यविधि अनुसार खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपालीले व्यक्ति वा संस्था हकमा अब २५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण आवश्यक पर्नेभएको छ ।

विभागका शाखा अधिकृत जगदीश अर्यालका अनुसार खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम दुईसय पचास अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ ।

अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) अनुसार यसअघि ती मुलुक जान पनि ५ सय डलर सटहीको आवश्यकता पर्ने गरेको थियो ।

यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा भने खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम पाचसय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको हुनुपर्ने विभागले जनाएको छ।

खाडी मुलुक र युरोपियन मुलुक बाहेकका मुलुकको हकमा भने खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम पाचसय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण आवश्यक शाखा अधिकृत अर्यालले बताए ।

अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड  (घ) मा थप्दै(घ) दफा ३.१ को उपदफा (२) को खण्ड (घ) बमोजिमको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयं उपस्थित भई अनिवार्य आयस्रोत खुलाउनुपर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *