चाडपर्व नजिकिएसँगै बुटवलमा बजार अनुगमन तीव्र – Nepal Press

चाडपर्व नजिकिएसँगै बुटवलमा बजार अनुगमन तीव्र

रुपन्देही । चाडपर्व शुरु भएसँगै बुटवलका विभिन्न पसल व्यवसायमा दिनहुँ अनुगमन गर्न थालिएको छ । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।

खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दूग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेवल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफत गरी नष्ट गर्ने तथा सन्चालकलाई जरिवाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्ने चेतावनी दिइएको छ ।

बुटवल उपमहानगरपालिका–४, हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाध्य स्टार्स, गोपीकृष्ण किराना पसल बुटवल–९, कालिकापथमा रहेका न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठुल्दाई ट्रेड सप्लार्य÷ठुल्दाई खाद्यान्न भण्डार, बुटवल–९ मै रहेका हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद प्रालि, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एशिया एटुजेट सामाग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।

हरियो तरकारी प्रालिमा व्यवसाय दर्ता र नापतौलको कागजात नभएको पाइएको र त्यहाँ केही तरकारी र तरकारी जन्य सामग्री गुणस्तरीय नपाइएको भन्दै नष्ट गरिएको थियो । उक्त पसललाई वडाकार्यालयमा व्यवसाय दर्ता गराई ३ दिनभित्र नापतौल कार्यालयमा उपस्थित हुन तारेख दिइएको अनुगमन समितिले जनाएको छ ।

यस्तै अर्घाखाँची कोल्ड ड्रिंक्स तथा मदिरा स्टोर्स, चौतारी विजनेस ग्रुप, डि.पि.सी.स्टोर्समा अनुगमन भएको छ । डीपीसी स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम जरिवाना गरिएको थियो ।

चौतारी बिजनेश गु्रपमा म्याद नाघेको र खान अयोग्य क्रेकर नष्ट गरिएको थियो । अर्घाखाँची कोल्डड्रिङ तथा मदिरा स्टोर्समा म्याद नाघेको वियर ६ बोतल, क्यान वियर ५ थान, रियल गोल्ड ३ थान जफत गरी नष्ट गरिएको थियो ।

अनुगमन गरिएको कतिपय पसलमा लेभल नभएका, अखाद्य रंग मिसिएका र म्याद नाघेका खाद्य सामन पसलमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रमिला गुरुङले बताइन् । कसुर र अवस्थाका आधारमा त्यस्ता पसललाई थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुन पत्र दिइएको गुरुङको भनाइ छ ।

यस्तै बुटवल–९, कालिकापथमा रहेको न्यू पुरक फेन्सीले उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गराइएको थियो । उक्त पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (३) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरिएको अनुगमन टोलीमा रहेका बाणिज्य कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिए । सामान बिक्री वितरण नगर्न सचेत गराउनुका साथै सामान जफथ गरेर नष्ट गरिएको थियो । कतिपय पसलमा सामान नष्ट र जरिबानासमेत तिराइएको थियो ।

बुटवलको सुख्खानगरमा रहेको पैचो पसल प्रालिमा पनि अनुगमन गरिएको छ । त्यहाँ प्याक गरिएका केही सामानमा लेबल नदेखिएकाले व्यवसाय दर्ता कागजात लिई उपमहानगरमा उपस्थित हुन निर्देशन दिइएको अनुगन समितिले जनाएको छ ।

यसैगरी बुटवल–८ मै रहेको सुरभि मिष्ठान भण्डार सुरभी लज एण्ड रेष्टुरेष्टमा पनि अनुगमन गरिएको थियो । त्यहाँ दर्ता प्रमाणपत्र नवीकरण नभएको र तीन दिन भित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

भाटभटेनी सुपर मार्केट बुटवलमा पनि अनुगमन गरिएको छ । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र सन्चारकर्मीहरुको उपस्थितिमा त्यहाँ अनुगमन गरिएको हो । भाटभटेनीमा प्रमाणपत्रहरु सबै अध्यावधिक रहेको साथै तरकारीबाहेकको अन्य सामानहरु केन्द्रबाट खरिद गरी पठाउने गरेको पाइएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाका अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले बजार अनुगमनसँगै उपभोक्तामा जागरण ल्याउने अभियानको पनि खाँचो रहेको उल्लेख गरिन् ।

उपमहानगरले उपभोक्ता जागरणका कार्यक्रम पनि बनाइरहेको उनको भनाइ छ । राज्यका निकायका कामलाई प्रभावकारी बनाउने र बजारमा हुने अराजकतालाई नियन्त्रण गर्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुरुपको कार्यक्रम बनाइएको उनले बताइन् ।

‘उपभोक्ता आफै सचेत, सजग र जागरुक भएमा कालोबजारी र मिसावट रोक्न सहज हुन्छ । सामान किन्दा नै सबै हेरेर किन्ने र चनाखो बन्ने हो भने ठगी हुने जोखिम कम हुन्छ ।’ उनले बताइन् । उपभोक्ताहरुले आफूले खरिद गर्ने वस्तु वा सामानको उत्पादन मिति, समाप्ती मिति, आदि हेरेर किन्न उनले सुझाव दिइन् । उपभोक्ता सचेत भएमा ठगी र कालोबजारी गर्नेहरु स्वतः निरुत्साहित हुने उनले दाबी गरिन् । संयोजक आचार्यले उपभोक्ता सचेत नभएसम्म कानुनी कारबाही र बजार अनुगमनको समेत प्रभाबकारिता कम हुने भएकाले उपभोक्तालाई सचेत बनाउने अभियानलाई पनि जोड दिइएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *