पोल भाडा वृद्धिप्रति केबल टेलिभिजन व्यवसायी महासंघको आपत्ति, निर्णय नसच्याए आन्दोलन – Nepal Press

पोल भाडा वृद्धिप्रति केबल टेलिभिजन व्यवसायी महासंघको आपत्ति, निर्णय नसच्याए आन्दोलन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अस्वभाविकरुपमा पोल भाडा बढाएको विषयलाई लिएर केबल टेलिभिजन व्यवसायीहरु विरोधमा उत्रेका छन् । लाखौंलाई रोजगारी दिइरहेको व्यवसाय नै धराशयी हुने गरी प्राधिकरणले पोलको शुल्कवृद्धि गरेको भन्दै निर्णय फिर्ता लिन नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले माग गरेको छ ।

महासंघले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेको हो । कोभिड १९ का कारण अर्थतन्त्र तहसनहस भएका बेला पूर्वाधारको शुल्क बढाउँदा उपभोक्तामाथि आर्थिक भार थपिने महासंघको भनाइ छ । महासंघ हालको प्रतिकुल अवस्थामा ग्राहकहरुमाथि कुनै पनि थप शुल्क वृद्धि गर्ने पक्षमा नरहेको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

‘प्राधिकरणको पोल भाडा वृद्धिको विषयलाई सञ्चार मन्त्रालयले नै तत्काल पहल गरी सर्वपक्षीय हित हुने गरी समस्याको समाधान गरिदिन महासंघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा सम्पूर्ण केवल टेलिभिजन सेवा नै बन्द हुने गरी सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेको यो प्रहारले जनतालाई सञ्चार क्षेत्रबाट वञ्चित गरी निरकुंश शासन लाद्ने प्रयास गरेको अनुभुति भएको छ ।’

राज्यले अबिलम्ब उचित निर्णय नगरे सम्पूर्ण केबल टिभी व्यवसाय नै बन्द हुने तथा यस क्षेत्रमा रहेका लाखौकौ रोजगारी गुम्ने विज्ञप्तिमा जनाइएको छ । निर्णय फिर्ता नभए सशक्त आन्दोलनको विकल्प नरहेको र यसबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनी महासंघले दिएको छ ।

लागत र प्रतिफलको तथ्यपरक बैज्ञानिक अध्ययन अनुसन्धान गरी सरोकारवालासँग छलफल गरेर मात्र पोल भाडा निर्धारण गर्नुपर्ने महासंघको निस्कर्ष छ । साथै, गैरकानूनी प्रसारण बन्द गर्नुपर्ने, प्रसारण क्षेत्रलाई कानूनबमोजिम करको दायरामा ल्याउनुपर्ने लगायतका माग पनि महासंघले उठाएको छ ।

नेपाल विद्युत प्राधिकरणले एकैपटक ५०० प्रतिशतसम्म शुल्कवृद्धि गरेपछि केवल व्यवसायी आक्रोशित बनेका हुन् । आउँदो १५ असोजसम्म शुल्क नतिरेमा पोलबाट तार काट्ने भन्दै प्राधिकरणले व्यवसायीलाई पत्र पठाएको छ । केवुल र इन्टरनेट व्यवसायीहरु भने प्राधिकरणले एकलौटीरुपमा गरेको मूल्यवृद्धिले ग्राहकलाई आर्थिक भार थोपर्ने बताउँछन् । यसअघि इन्टरनेट सेवा प्रदायकले पोल भाडा वृद्धिलाई देखाएर इन्टरनेटको शुल्क बढाउने निर्णय लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *