नवनियुक्त स्वास्थ्यमन्त्रीको दाबी- दुर्गमभन्दा दुर्गम ठाउँहरुमा पनि तत्काल चिकित्सक पुर्‍याउँछु (भिडिओ) – Nepal Press

नवनियुक्त स्वास्थ्यमन्त्रीको दाबी- दुर्गमभन्दा दुर्गम ठाउँहरुमा पनि तत्काल चिकित्सक पुर्‍याउँछु (भिडिओ)

एक हप्ता भित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ । बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उहाँले आफू कम सुतेर भएपनि मन्त्रालयको काममा खटने बताए । मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए । उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए ।

‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै हामीले दूर्गम भन्दा दूर्गम ठाउँमा पनि चिकित्सकहरुलाई पनि स्थानीय तह, प्रदेश र संघको समन्वयकारी भूमिकामा प्रत्येक ठाउँमा प्रभावकारी ढंगले पुर्याउने भनेको कुरा पनि तपाईहरुकै भनाईलाई हामीले सम्बोधन गर्न खोजेको हो’, मन्त्री बस्नेतले भने, ‘त्यसकारण हामी एकीकृत बुद्धि, विवेक र प्रयासबाट यो यो मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस् । मैले फेरी दोहोर्याउन चाहेँ– म चाहीँ कम सुते हुने मान्छे, बढी खटन सक्ने मान्छे । म तपाईहरु सबैको सुझाव लिएर आफ्नो समय बढि भन्दा बढि यो ठाउँलाई सदूपयोग गरेर म अगाडि बढने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु ।’

मन्त्री बस्नेतले एक हप्ता भित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाव दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाई थियो । मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भएपनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाए ।

‘अब यो स्वास्थ्य सामग्री जति खरिद भएको छ । यो प्रयोगमा आएको छैन । यो चाँही तत्काल कुन–कुन ठाउँमा, कसरी थन्किएको छ । एक हप्ता भित्र त्यसको हिसाव खोज्नुस् । र कुन ठाउँमा बढि आवश्यक छ ?’, उनले भने, ‘दुर्गम जिल्लाहरुमा त्यो सामग्री नभएको कारणले समस्या परिराखेको छ भने हामीले किन नदिने ? अथवा विरामीको चाप धेरै भईरहेको हस्पिटलहरुमा हामीले त्यो सामान दिँदा त्यहाँ फाईदा हुन्छ भने किन नगर्ने ? त्यसको सदूपयोग गर्नु प¥यो नि । मैले बुझेसम्म यो ठूलै भोल्युममा छ ।’

मन्त्री बस्नेतले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन चिकित्सकहरुलाई समेत सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर