संकटालाई हराउँदै पाँचौं स्थानमा उक्लियो मछिन्द्र, एपीएफ र एनआरटीले बाँडे अंक – Nepal Press

संकटालाई हराउँदै पाँचौं स्थानमा उक्लियो मछिन्द्र, एपीएफ र एनआरटीले बाँडे अंक

काठमाडौं । मछिन्द्र फुटबल क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १४औं चरणको अन्तिम खेलमा संकटा क्लबलाई ३-१ गोलले पराजित गरेको छ । संकटालाई हराएसँगै साविक विजेता मछिन्द्र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रलाई जीत दिलाउन देवेन्द्र तामाङ, ओलावाले अफिज र विमल घर्ती मगरले गोल गरे । संकटाका जुनियर एनकुङ्गेले एक गोल फर्काएका थिए ।

खेल सुरु भएको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पुजन उपरकोटीको प्रहार संकटाका गोलकिपर टिकेन्द्र थापाले बचाउन नसकेको बलमा ६ यार्डबक्समा अनमार्क रहेका देवेन्द्रले सुन्दर गोल गरे ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको मछिन्द्र दोस्रो हाफमा पनि संकटामाथि हावी भयो । ओलावाले अफिजले ६९औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर पारे ।

जुनियरले ७८औं मिनेटमा गोल गर्दै संकटाले खेलमा फर्किने संकेत गरेको थियो । तर, ८९औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको जीत ३-१ ले सुनिश्चित गरे ।

जीतसँगै मछिन्द्र २१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित संकटा १६ अंकसहित ११औं स्थानमा छ ।

यस्तै च्यासल रंगशालामा भएको खेलमा एपीएफ क्लब र न्यूरोड टीम (एनआरटी)ले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको एनआरटीले ५८औं मिनेटमा लालनुनजामाको गोलमा अग्रता लिएको थियो । खेलको निर्धारित समयसम्म पनि १-० गोलको अग्रता बनाएको एनआरटी इन्जुरी समयमा सम्हालिन सकेन । एपीएफका एडामा डोम्बियाले इन्जुरी समयमा गोल फर्काउँदा एनआरटी अंक बाँड्न बाध्य भयो ।

बराबरीसँगै एपीएफ १४ खेलमा १९ अंक जोडेर तालिकाको ७औं स्थानमा छ । एनआरटी १७ अंकसहित नवौं स्थानमा छ ।

लिगमा १४औं चरणको समाप्तिमा जावलाखेल २४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको पनि समान २४ अंक छ । थ्रीस्टार क्लब २३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर