मन्त्री चयनमा पार्टीभित्रको सन्तुलन र समावेशी नभएको भन्दै कांग्रेस पदाधिकारी बैठकमा देउवासँग भनाभन – Nepal Press

मन्त्री चयनमा पार्टीभित्रको सन्तुलन र समावेशी नभएको भन्दै कांग्रेस पदाधिकारी बैठकमा देउवासँग भनाभन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा मन्त्री पठाउँदा एकलौटी गरेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ । सत्ता गठबन्धनमा आठ मन्त्रालय पाउँदा देउवाले आफू निकटका ६ जना मन्त्री बनाएपछि आज बसेको पदाधिकारी बैठकमा नेताहरुले असन्तुष्टि पोखेका हुन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्दा कसैसँग सल्लाह नगरेको भन्दै नेताहरुले देउवाको आलोचना गरे । सभापति देउवाको कार्यशैलीको विषयमा नेताहहरुले तीव्र असन्तुष्टि पोखेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीका अनुसार महामन्त्री थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारलगायत नेताहरुले असन्तुष्टि जनाएका थिए ।

पार्टी सहमहामन्त्री परियारले पार्टीबाट आठ मन्त्री पठाउँदा समावेशी नभएको भन्दै प्रश्न उठाएको सहमहामन्त्री डिना उपाध्यायले बताइन् ।
उनले अर्का सहमहामन्त्री परियारको भनाइलाई उद्धृत गर्दै भनिन्, ‘पार्टीबाट सरकारमा आठ मन्त्री पठाउँदा समावेशी भएको छैन । मन्त्री छान्दा दलित, मधेसीलगायत सीमान्तकृत समेटिएका छैनन् । सबै क्षेत्रको प्रतिनिधित्व हुन नसक्दा पार्टीमाथि प्रश्न उठ्छ ।’

परियारको कुरा सुनेपछि देउवाले गठबन्धन सरकारमा धेरै मन्त्रालय नपाएकाले सबैलाई समेट्न नसकेको जवाफ दिएका थिए ।

‘अहिले गठबन्धनको सरकार हुँदा सबैलाई समेट्न सकिएन । अब कांग्रेसको एकल सरकार बनेपछि सबैलाई समेटौंला । पार्टीलाई पहिलो बनाउने गरी काममा लाग्नुस्’, देउवाको भनाइ थियो ।

गठबन्धनमा आलोपालोको सहमति भएकाले अर्को पटकमा ख्याल गरेर अघि बढ्ने देउवाले प्रष्टाए । उनले बैठकमा भएको सामान्य छलफललाई चर्काचर्की भन्न नमिल्ने बताइन् ।

त्यसो त सहमहामन्त्री परियारले पनि सभापतिसँग चर्काचर्की नभएर आफ्नो कुरा राखेको बताए ।

बैठकमा मन्त्री नियुक्तिको विषयमा तपाईं र सभापतिबीच चर्काचर्की पर्‍यो भन्ने चर्चा छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘त्यस्तो चर्काचर्की भएको होइन । मैले हाम्रोतर्फबाट कुरा राखेको हुँ । त्यसलाई कसरी चर्काचर्की भन्नु ।’

उनले पार्टीबाट सरकारमा मन्त्री पठाउँदा समावेशी र सन्तुलन नमिलेकोप्रति आफ्नो धारणा राखेको प्रष्टाए ।

इतर समूहले तीन मन्त्री नपाए सरकारमा नजाने अडान राखिरहेको थियो । तीन मन्त्रालय दिने आश्वासन दिइरहेका देउवाले बुधबार पार्टीबाट तीन मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।

कांग्रेसबाट सरकारमा गएका धनराज गुरुङ र डिगबहादुर लिम्बूबाहेक सबै देउवा निकटकै हुन् । इतर समूहलाई तीन मन्त्रालयको आश्वासन दिए पनि देउवाले अन्तिम समयका कार्यान्वयन गरेनन् । इतर पक्ष तीन मन्त्रालय पाउनेमा ढुक्क थियो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमा एनपी साउद, उद्योगमा रमेश रिजाल, शहरी विकासमन्त्री सीता गुरुङ देउवा निकटकै हुन् ।

मन्त्रीको ब्रिफिङ

बैठकमा सरकार र बजेटको बारेमा पार्टीमा मन्त्रीहरुले ब्रिफिङ गरेको नेतृ उपाध्यायले बताइन् । उनले भनिन्, ‘सरकारको अहिलेसम्मको सिनारियोको बारेमा पार्टीका प्रमुख सचेतक, रक्षा र अर्थमन्त्रीले बैठकमा ब्रिफिङ गर्नुभयो ।’

पार्टीको भ्रातृ संगठनलाई भोलिसम्ममा टुंगो लगाउने गरी छलफल भएकोसमेत उपाध्यायले बताइन् ।

तर, अर्का सहमहामन्त्री परियारले अब बस्ने पार्टीको केन्द्रीय समितिको बैठकअघि पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘आजको बैठकमा भ्रातृ संगठनलाई पूर्णता दिनेबारे छलफल भएको छ । कहिले सक्ने भन्ने अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर