भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने सचिव पाण्डे को हुन् ? – Nepal Press

भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने सचिव पाण्डे को हुन् ?

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि कर्मचारी तन्त्रबारे विभिन्न विश्लेषण हनु थालेका छन् । उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे बुधबार पक्राउ परेसँगै घटनाले नयाँ रुप लिएको छ ।

हुन त यसै प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी एवम् उनका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् ।

ठगी धन्दामा गृह सचिव भइसकेको व्यक्ति र बहालवाला सचिव पक्राउ परेको सम्भवतः यो पहिलो घटना हो । पाण्डे २०७८ श्रावण २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृह सचिव थिए ।

पाण्डे गृह मन्त्रालयमा सरुवा हुँदा पनि निहित स्वार्थ रहेको अनुमान थियो । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री भएर आउने बित्तिकै पाण्डेलाई गृह सचिवको जिम्मेवारी दिइएको थियो ।

गृह प्रशासनमा कुनै अनुभव नभएका व्यक्तिलाई सचिव बनाइएको भन्दै आलोचना पनि भएको थियो । तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाट उनी गृह मन्त्रालयको सचिवमा सरुवा भएका थिए ।

पाण्डे गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सरुवा हुदाँ पनि लामो समयसम्म रमाना नै बुझ्न मानेका थिएनन् । उनले रमना बुझ्न नमानेका कारण तत्कालीन गृह सचिव पाण्डेले नयाँ सचिवलाई हाजिर गर्न रोक्नुपरेको थियो ।

मन्त्रीले पनि रमाना बुझाउन नसकेपछि सरुवा भई सकेका पाण्डेलाई सरकारी कार्यक्रममा विदेश भ्रमणमा पठाउनुपरेको थियो ।

प्रधानमन्त्री कार्यालयबाट उपराष्ट्रपति कार्यालयमा सरुवा गरेपछि मात्रै उनले रमाना बुझेका थिए । तर त्यतिबेला पाण्डले आफू बिरामी परेको र उपचारसमेत गराउन परेकाले रमाना बुझ्न ढिलाई भएको बताएका थिए ।

पाण्डेको निजामती यात्रा कस्तो छ ?

सचिव टेकनारायण पाण्डे २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका हुन् ।

शिक्षा सेवा अन्तर्गत विद्यालय निरीक्षक (बिनी)बाट सरकारी सेवामा प्रवेश गरेका पाण्डे शाखा अधिकृत हुँदै २०६५ सालमा उपसचिव भएका थिए भने २०६७ सालमा सहसचिव र २०७६ सालमा सचिवमा बढुवा भएका थिए ।

पाण्डेले शाखा अधिकृत, कार्यक्रम संयोजक, योजना अधिकृतका रूपमा प्युठान, गुल्मी, पाल्पालगायतका जिल्लामा काम गरिसकेका छन् । यसैगरी जिल्ला शिक्षा अधिकारीको रूपमा २०६१ देखि २०६५ सम्म जिल्ला शिक्षा कार्यालय दाङ र जुम्लामा काम गरेका थिए ।

२०६५ सालमा उपसचिव बनेपछि प्रशासन पुनर्संरचना आयोग, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रमा काम गरे । २०६७ सालमा सहसचिव भएपछि २०६७ फाल्गुनदेखि सहसचिव अर्थात निर्देशकको रूपमा शैक्षिक जनशक्ति विकास केन्द्र र शिक्षा विभागमा काम गरेका थिए ।

त्यसपछि पाण्डे व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्रको महानिर्देशक, शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रको उपमहानिर्देशक र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको महानिर्देशक बनेर पनि काम गरे ।

त्यसपछि उनी २०७६ सालमा उनी नेपाल सरकारको सचिवमा बढुवा भए । बढुवापछि उनको २०७६ भदौमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा प्रदेश प्रमुख सचिवमा पदस्थापन भएको थियो । पाँच महिनापछि २०७६ फागुनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारको प्रमुख सचिव बने ।

सचिव भएपछि उनको २०७७ साउनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको रुपमा सिंहदरबार प्रवेश भयो । उनले त्यहाँ करिव एक वर्ष सचिवको जिम्मेवारी सम्हाले ।

त्यसपछि जव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो र जतिबेला गृहमन्त्रीको जिम्मेवारीमा आए काँग्रेसका नेता बालकृष्ण खाण । खाण गृहमन्त्री भएपछि पाण्डेले गृह सचिव बन्नका लागि सक्ने जति प्रयास गरे । नभन्दै उनी तत्कालिन गृहमन्त्री खाणकै पहलमा गृहसचिव बने । पाण्डे भन्दा अघि गृह सचिवको जिम्मेवारीमा महेश्वर न्यौपाने रहेका थिए ।

२०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म उनले गृह सचिवका रूपमा काम गरे । गृह सचिव रहदाँ उनले तत्कालीन प्रहरी प्रमुख (आईजीपी) धिरप्रताप सिंहलाई प्रदान गरेका थिए ।

पक्राउ पर्दा उनी उपराष्ट्रपतिको कार्यालयको सचिव थिए । तर, उनी पक्राउ परेकै दिन बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।

 

प्रतिक्रिया

One thought on “भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने सचिव पाण्डे को हुन् ?

  1. वि.नि. पनि शाखा अधिकृत बराबरको पद हो । अझै पनि वि.नि. बढुवा भएर शाखा अधिकृत भएको हो भनेर बुझ्ने बुद्धुहरु पाइनु विडम्बना नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *