सामुदायिक वनमा दुई धारे नीति : बाढी पीडित र सुकुमबासीका घरटहरा भत्काइए, पार्टी कार्यालयको भयो शिलान्यास – Nepal Press

सामुदायिक वनमा दुई धारे नीति : बाढी पीडित र सुकुमबासीका घरटहरा भत्काइए, पार्टी कार्यालयको भयो शिलान्यास

कैलाली । कैलालीको गोदावरी नगरपालिका- ३ स्थित चौकीडाँडा महिला सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घर टहरामा सब डिभिजन वन कार्यालय अत्तरियाले सोमबार डोजर चलायो । वन कार्यालयले एकै दिनमा करिब ४५० घरटहरा भत्काएको थियो ।

केही दिन अगाडि अतिक्रमित वन क्षेत्र खाली गराउन पत्राचार र माइकिङ गरे पनि त्यसको सुनुवाइ नभएपछि डोजर चलाएको वन कार्यालयको तर्क छ ।

बाढी पीडित र सुकुमबासीको नाममा वन क्षेत्रमा बनाइएका घरटहरा भत्काउने अभियान चलिरहेको छ । यही बेला सोही नगरपालिकाभित्रको एक अर्को सामुदायिक वनभित्र भवन निर्माणको शिलान्यास गरिएको छ ।

गोदावरी नगरपालिका- १ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्रभित्रै बीपी स्मृति भवन निर्माणको शिलान्यास गरिएको हो । वन क्षेत्र कब्जा गरेर भवन निर्माणको शिलान्यास गर्न केन्द्रीय सांसद नै त्यहाँ पुगेका थिए । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले सुरक्षा महिला सामुदायिक वन क्षेत्रभित्रै भवन निर्माणको शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यासमा केन्द्रीय सांसद बलायरसँगै वनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि पुगेकी थिइन् । उनले आफूहरूलाई सामुदायिक वनको जग्गा दिने अधिकार नभएको तर भोगाधिकार ल्याउने आश्वासन दिएपछि आफूहरूले सहमति दिएको बताइन् ।

‘हामीलाई त्यो अधिकार छैन । उहाँहरूले भोगाधिकार ल्याउँछौं भन्नुभयो’, अध्यक्ष भण्डारीले भनिन्, ‘मलाई पनि बोलाउनुभएको थियो । अनि गएँ ।’

वन क्षेत्रभित्र नेपाली कांग्रेसले बीपी स्मृति भवनको लागि शिलान्यास गरेसँगै बाँकी काम अघि बढाउने विषयमा भने विवाद सुरु भएको छ ।

एउटै नगरपालिकाभित्र बाढी पीडित र सुकुमबासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने वन क्षेत्रभित्रै पक्की भवन बनाउन दिएको भन्दै विरोध सुरु भएको हो ।

‘वनका विषयमा सरकारी नीति एउटै हुनुपर्छ । गरिबलाई हटाउने र धनीलाई बस्न दिने कुरा राम्रो होइन’, नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने, ‘वन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले हामीलाई लज्जाबोध भइरहेको छ ।’

उनले भवन निर्माण तत्काल बन्द गर्नुपर्ने बताए ।

प्रदेश सरकारको बजेटमा बीपी पार्क निर्माण प्रक्रिया भइरहेको कैलाली क्षेत्र नम्बर ४ का सभापति ललित रोकायाले बताए । ‘बीपी स्मृति भवन बनाउनै नपाइने भन्ने पनि होइन नि’, उनले भने, ‘यसअघिबाटै हामीले त्यहाँ वृक्षारोपण गर्दै आइरहेका छौं । यो अघिल्लो वर्षको बजेट हो ।’

रोकायाले बीपी पार्कको शिलान्यास गरिएको भने पनि संघीय सांसद बलायरले भने नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय भवनको शिलान्यास भएको उल्लेख गरेका छन् ।

सांसद बलायरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेस क्षेत्र नं ४ कैलाली क्षेत्रीय कार्यालय भवनको शिलान्यास !’

शिलान्यास कार्यक्रममा उनीसँगै प्रदेशसभा सदस्य प्रकाश बम र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट पनि देखिएका छन् । सोमबार अतिक्रमण हटाउँदा नगरपालिकाकै डोजर प्रयोग गरिएको थियो । एकातर्फ आफैं वन अतिक्रमण हटाउने अर्कोतर्फ आफ्नै उपस्थितिमा वन क्षेत्रमा संरचना निर्माणको शिलान्यास गर्ने मेयरको दोहोरो भूमिकाप्रति पनि स्थानीयले प्रश्न उठाइरहेका छन् ।

सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले वन क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्न नदिइने दाबी गरेका छन् ।

‘हामीले अस्ति भर्खरै यही पालिकामा ४५० टहरा हटाएका छौं । फेरि कब्जा गर्न दिने भन्ने हुँदैन’, उनले भने, ‘वन क्षेत्रभित्रै भवन बनाउने गरी शिलान्यास गरेको कुरा सुनेको छु । त्यो तत्काल रोक्न लगाउँछु । रोकिनुपर्छ । ’

उनले सामुदायिक वनले निर्णय गरेर जग्गा दिएको भन्दै त्यस्तो अधिकार सामुदायिक वनमा नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *